
काठमाडौं, जेठ २०- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-२ मा संचालित निशुल्क शिविरबाट साँढे तीन सय महिलाले सेवा लिएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा सोमबार र मंगलबार (दुई दिनसम्म) आलापोट स्वास्थ्य चौकीमा चलेको शिविरबाट तीन सय ६३ जना स्थानीय महिलाहरुले सेवा लिएका हुन् ।
स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो । ३ सय ६३ जना महिलाको भिआईए जाँच गरिएकोमा २ जनालाई भिआईए पोजेटिभ देखिएको थियो । उनिहरुलाई थर्मोकोगुलेटर प्रयोग गरि उपचार गरेर आवश्यक औषधी प्रदान गरिएको थियो ।
शिविरमा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।
शिविरको नगर उप-प्रमुख शान्ता थापाले निरीक्षण गर्नुका साथै महिला दिदीबहिनीहरुको समस्या र गुनासो समेत सुनेकी थिइन् ।