
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगर अस्पताललाई ५ सय वेडको बनाएर ३ हजार नगरबासीलाई रोजगारी दिने सपना भएको बताएका छन् । सय शय्याको स्तरोन्नतिको प्रक्रियामा रहेको अस्पतालले सोमबार राय सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको थियो ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले अत्याधुनिक अस्पताल निर्माण गरेर नगरवासीका लागि गुणस्तरीय स्वास्थ्य सेवा र रोजगारीको अवसर सँगै अघि बढाउने लक्ष्य रहेको बताएका हुन् ।
“हामी केवल अस्पताल निर्माण गर्न खोजिरहेका छैनौँ, हामी हाम्रो नगरलाई स्वास्थ्य, सेवा र रोजगारीको केन्द्र बनाउन चाहन्छौँ,” उनले भने । “हाम्रो उदेश्य पवित्र छ । अस्पतालमा ३५ विधाका बिशेषज्ञसहित सेवाहरु प्रदान गर्दै आइरहेको छौं । हाल अस्पतालमा १ सय ९७ जना कर्मचारीले प्रत्यक्ष रोजगारी पाइरहेका छन् । दैनिक एक हजार बढीले सेवा लिइराख्नु भएको छ । त्यहि अनुपातमा आम्दानी पनि भैरहेको छ । यसलाई बढाएर सय वेड होइन, ५ सय वेडसम्मको बनाएर यहिँका २५ सय देखि ३ हजार जनालाई रोजगारी दिने हो । यो मेरो सपना हो ।”
स्थानीय समुदाय, निजी क्षेत्र र संघीय सरकारबीचको सहकार्यमा अस्पताल सुबिधा सम्पन्न बनाउने बताउँदै नगरप्रमुख कार्कीले भने, “कागेश्वरी मनोहराको विकास अब दृष्टान्त बन्नेछ । स्वास्थ्य सेवा र रोजगारका माध्यमबाट हामीले नगरवासीको जीवनस्तरमा वास्तविक परिवर्तन ल्याउनेछौँ ।”
सय शय्याको स्तरोन्नति सँगै आधुनिक शल्यक्रिया कक्ष, प्रसुतिगृह, आइसीयु, एनआइसीयु, डाइलाइसिस्, ट्रमा सेन्टर, ल्याव र इमेजिङ सेवा विस्तार गर्ने लक्ष्य लिइएको प्रमुख कार्कीले जानकारी दिए ।
बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैय्यामा स्तरोन्नतिका प्रदेश सरकारलाई प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अनुमोदन भैसकेको अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले जानकारी दिए ।
अस्पतालले पछिल्ला दिनहरुमा १ हजारभन्दा बढी बिरामीलाई सेवा प्रदान गर्दै आइरहेको छ । अस्पतालले चौबिसै घण्टा आकस्मिक सहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी सेवा प्रदान गर्दै आएको छ ।
अस्पतालले विशेषज्ञ चिकित्सकसहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपिडि सेवा अन्तर्गत हाडजोर्नी विशेषज्ञ, ईन्टरनल मेडिसिन, बालरोग विशेषज्ञ, रेडियोलोजी सेवा, स्त्री विशेषज्ञ, ई.एन.टी विशेषज्ञ सेवा, मनोरोग विशेषज्ञ, छालारोग विशेषज्ञ, प्याथोलोजी सेवा, फिजियोथेरापी सेवा, आँखा जाँच विशेषज्ञ, दन्तरोग, एम्बुलेन्स, शववाहन सेवा, मुटुरोग सेवा, युरोलोजिष्ट सेवा, सर्जरी सेवा, पोषण परामर्श सेवा, खोप सेवा, डट्स सेवा, अन्तरंग सेवा संचालन गर्दै आएको छ ।
त्यस्तै आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पतालमा २४ सै घण्टा प्रसूति सेवा, प्रत्येक हप्ता २ दिन आमा र बच्चाका लागि नियमित खोप, पोषण सेवा एवं डट्स सेवासमेत उपलब्ध गराउदै आएको छ । अस्पतालले मोतियाबिन्दुको शल्यक्रिया सुरु गरेको छ ।
अस्पतालले उपलब्ध गराएको अर्को महत्वपूर्ण सेवा फार्मेसी सेवा हो । यहाँ बाहिरी बजारमूल्य भन्दा करिब १० प्रतिशत सस्तोमा बिरामीले औषधी प्राप्त गर्न सक्छन भने निःशुल्क औषधीहरु पनि सरल र सहज रूपमा उपलब्ध हुने गरेका छन् ।
अस्पतालमा हाल ३० देखि ३५ शैय्या नियमित प्रयोगमा छन् ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)का अनुसार १०० शय्याको आफ्नै अस्पताल भएको खण्डमा पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने व्यवस्था छ । यदि कागेश्वरी मनोहरा नगर अस्पतालले १०० शय्याको अस्पताल संचालनको अनुमति पाएको खण्डमा अस्पताल संचालन सँगै नर्सिङ शिक्षा पनि संचालन गर्न पाउने छ ।
यो पनि पढ्नुहोस्- नगर अस्पताल १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा, २४ गते सार्वजनिक सुनुवाई हुँदै
नगर अस्पतालमा आउने बिरामीको संख्याले तोड्यो रेकर्ड, एकैदिनको आम्दानी साँढे ७ लाख


















