Skip
आज : २०८२ कार्तिक २४ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नगर अस्पताल १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा, २४ गते सार्वजनिक सुनुवाई हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, १८ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । १०० शैय्यामा स्तरोन्नतिको प्रक्रियामा रहेको अस्पतालले आगामी कात्तिक २४ गते राय सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको हो ।

बागमती प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैय्यामा स्तरोन्नतिका प्रदेश सरकारलाई प्रस्ताव गरिएको थियो । उक्त प्रस्ताव अनुमोदन भैसकेको अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलले जानकारी दिए । जसअनुसार प्रारम्भिक वातावरणीय परिक्षण सम्बन्धि सार्वजनिक सुनुवाई हुन लागेको हो ।

उक्त दिन नागरिकहरूले आफ्नो विचार, सुझाव र गुनासो राख्न पाउनेछन् भने सरोकारवालाहरुले उठेका बिषयमा बोल्नेछन् । त्यसैका आधारमा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले प्रतिवेदन तयार गरि आवश्यक प्रक्रिया अगाडी बढाउने छ ।

अस्पतालमा पछिल्ला दिनहरुमा बिरामीको संख्या अत्यधिक बढ्न थालेको छ । अस्पतालमा एकैदिन १ हजारभन्दा बढी बिरामीले सेवा लिने गरेका छन् । अस्पतालले चौबिसै घण्टा आकस्मिक सहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपीडी सेवा प्रदान गर्दै आएको छ ।

अस्पतालले दैनिक १९ भन्दा बढी प्रकारका बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । जसअनुसार विशेषज्ञ चिकित्सकसहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपिडि सेवा अन्तर्गत हाडजोर्नी विशेषज्ञ, ईन्टरनल मेडिसिन, बालरोग विशेषज्ञ, रेडियोलोजी सेवा, स्त्री विशेषज्ञ, ई.एन.टी विशेषज्ञ सेवा, मनोरोग विशेषज्ञ, छालारोग विशेषज्ञ, प्याथोलोजी सेवा, फिजियोथेरापी सेवा, आँखा जाँच विशेषज्ञ, दन्तरोग, एम्बुलेन्स, शववाहन सेवा, मुटुरोग सेवा, युरोलोजिष्ट सेवा, सर्जरी सेवा, पोषण परामर्श सेवा, खोप सेवा, डट्स सेवा, अन्तरंग सेवा संचालन गर्दै आएको छ ।

त्यस्तै आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पतालमा २४ सै घण्टा प्रसूति सेवा, प्रत्येक हप्ता २ दिन आमा र बच्चाका लागि नियमित खोप, पोषण सेवा एवं डट्स सेवासमेत उपलब्ध गराउदै आएको छ । अस्पतालले केहिसमय अघिदेखि अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया सुरु भएको छ ।

अस्पतालले उपलब्ध गराएको अर्को महत्वपूर्ण सेवा फार्मेसी सेवा हो । यहाँ बाहिरी बजारमूल्य भन्दा करिब १० प्रतिशत सस्तोमा बिरामीले औषधी प्राप्त गर्न सक्छन भने निःशुल्क औषधीहरु पनि सरल र सहज रूपमा उपलब्ध हुने गरेका छन् ।

सय शैय्यामा स्तरोन्नतीको प्रक्रियामा रहेको अस्पतालमा हाल ३० देखि ३५ शैय्या नियमित प्रयोगमा छन् ।

अस्पतालबाट दिने बिशेषज्ञसहितका सेवाहरुलाई प्रभावकारी र जनमैत्री बनाउदै गएकाले आम नागरिकको विश्वास जित्न सकेको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । उनले उच्च गुणस्तरीय यन्त्र उपकरण, औजार, दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुबाट उच्चस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालले प्रदान गर्दै आइरहेको बताए ।

प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैय्यामा स्तरोन्नतिका लागि प्रस्ताव गरिएपछि त्यसैअनुरुप कामहरु अघि बढेको प्रमुख कार्कीको भनाई छ । स्तरोन्नति सँगै आधुनिक शल्यक्रिया कक्ष, प्रसुतिगृह, आइसीयु, एनआइसीयु, डाइलाइसिस्, ट्रमा सेन्टर, ल्याव र इमेजिङ सेवा विस्तार गर्ने लक्ष्य लिइएको प्रमुख कार्कीले जानकारी दिए ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीइभीटी)का अनुसार १०० शैय्याको आफ्नै अस्पताल भएको खण्डमा पीसीएल नर्सिङको पठनपाठन गराउन पाउने व्यवस्था छ । यदि कागेश्वरी मनोहरा नगर अस्पतालले १०० शैय्याको अस्पताल संचालनको अनुमति पाएको खण्डमा अस्पताल संचालन सँगै नर्सिङ शिक्षा पनि संचालन गर्न पाउने छ ।


प्रतिकृया दिनुहोस्