Skip

Hamro Sanchar

नगर अस्पतालमा फेमिली मेडिसिन सेवा थप, नाक, कान तथा घाँटीको सेवा पूर्णकालीन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ साउन, २४ गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सेवालाई थप परिस्कृत र सेवाग्राहीमैत्री बनाउने भएको छ । अस्पतालले आर्थिक बर्ष २०८२/८३ को सुरुवात सँगै अस्पतालबाट प्रदान गर्ने सेवाहरुलाई थप परिस्कृत र सेवाग्राहीमैत्री बनाउदै लैजाने भएको हो ।

त्यसैअनुरुप अस्पतालले नाक, कान तथा घाँटीरोगको सेवाकाे समय अवधि थप गरेकाे छ । सेवाग्राहीको संख्या बढ्न थालेपछि समयावधि बढाएर दैनिक ७ घण्टा सेवा प्रदान गरिने भएको हो ।

थप गरिएको समय तालिकाअनुसार आइतबारदेखि सार्वजनिक विदा बाहेक हरेक दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म २ जना बिशेषज्ञ डाक्टरद्धारा (ENT Specialist) द्वारा नाक, कान तथा घाँटीरोगको सेवा प्रदान हुनेछ । यसअघि अस्पतालले दैनिक २ मात्र उक्त सेवा दिँदै आइरहेको थियो ।

अस्पतालकाअनुसार दैनिक ४० देखि ५० जनाले नाक, कान तथा घाँटीरोगको सेवा लिने गरेका छन् ।

यस्तै अस्पतालमा आगामी भदौ महिनाबाट फेमिली मेडिसिन सेवा सुचारु हुने भएको छ । बालकदेखि बृद्धवृद्धालाई सम्म लक्षित गर्दै अस्पतालले फेमिली मेडिसिन सेवा सुचारु गर्ने भएको हो । त्यसको लागि सबै तयारी पुरा भएको अस्पताल ब्यबस्थापन पक्षले जनाएको छ ।

नगर अस्पतालले दैनिक ८ सय देखि एक हजारको संख्या सेवाग्राहीलाई स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । आर्थिक बर्ष २०८०/८१ मा ६२ हजारले सेवा लिएकामा आर्थिक बर्ष २०८१/८२ मा १ लाख ३९ हजारभन्दा बढीले सेवा पाएका छन् ।

यसरी हेर्दा अस्पतालमा बिरामीको संख्या विगतका वर्षभन्दा दोब्बर भन्दा धेरैले बृद्धि भएको छ । अस्पतालले निजी अस्पताल सरह सेवा सुविधा उपलब्ध गराउने भएपछि पछिल्लो समय सेवाग्राहीको संख्या बढेको हो ।

अस्पतालले हाल १९ भन्दा बढी विशेषज्ञ सेवा उपलब्ध गराउँदै आएको छ । १५ बेड क्षमतामा संचालनको अनुमति पाएपनि ३० देखि ३५ बेड संचालन हुँदै आइरहेको छ । यस्तै १२ बेड क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष संचालनमा रहँदै आइरहेको छ ।

हाल सो अस्पतालले बागमती प्रदेश सरकारबाट ५० बेड को संचालन अनुमति पाइसकेको छ ।

अस्पतालमा बहिरंग, अन्तरगं, इमर्जेन्सी, दन्तरोग, आखाँ उपचार र बर्थिङ सेवा, सामान्य चिरफार, सुरक्षित गर्भपतन सेवा र निशुल्क क्षयरोगको उपचार हुँदै आएको छ । त्यस्तै, प्रबर्धनात्मक सेवा अन्तर्गत परिवार नियोजन, पोषण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, नियमित खोप कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा शिविर र महिला स्वास्थ्य स्वयमसेवीका कार्यक्रम सञ्चालन हुँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अस्पतालमा, एक्सरे, ल्याब, फार्मेसी, बथिङं, एम्बुलेन्स र बीमा सेवा २४ सौ घन्टा उपलब्ध हुँदै आएको छ ।

विशेषज्ञ सेवा अन्तर्गत सामान्य चिकित्सक, हाड जोर्नी, प्रसूति तथा स्त्रीरोग, बालरोग, अल्टासाउण्ड र फिजियोथेरापी, छालारोग, मनोचिकित्सक, नाक, कान, घाँटी सेवा सञ्चालन हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्