
काठमाडौं, असार १६- संसार देख्ने आँखा अचानक बन्द भइदिँदा कति अन्धकार हुँदो हो ! दैनिकी चलाउन कति असहज हुँदो हो ? घरभित्र अथवा बाहिर हिडडुल गर्न कसैको सहयोग, दिसा–पिसाव गर्न पनि सहारा लिनुपर्दाको पीडा कति अप्ठ्यारा होलान् सहज अनुमान गर्न सकिन्छ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ गागलफेदीकी ६२ वर्षीया लक्ष्मी माइली लामाको जिन्दगी यस्तै पीडा, सङ्घर्ष र छट्पटीबीच विगत एक वर्षदेखि चलिरहेको थियो । चार–पाँच वर्ष अगाडिदेखि उनको आँखाको ज्योति धुमिल हुँदै गएको थियो भने गएको एक वर्षदेखि पूरै ज्योति गुमेको थियो ।
यसबीच नगरपालिकाले ‘मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ राखेको थियो । उक्त कार्यक्रममा उनले आँखाको जाँच गरिन् । उनको आँखामा मोतिबिन्दु भएको पत्ता त लाग्यो तर कसरी, कहाँ गर्ने त्यसको कुनै भेउ थिएन । शनिबार लामाजस्तै नगरस्तरमा सञ्चालन गरिएको मेयरसँग जेष्ठ नागरिक शिविरबाट छनोट गरिएका ५६ जना बिरामीमध्ये ४७ जनाले कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालमा गई आँखाको निःशुल्क शल्यक्रिया गराएका छन् । पुनः आँखाको ज्योति पाएपछि लामाजस्तै अन्यको मुहारमा खुसी प्रष्ट देखिन्थ्यो ।
लाग्दथ्यो, बुढ्यौली उमेर नर्क बन्यो, तर अपरेशनपछि आँखाले ज्योति पायो । फेरि नयाँ जीवन पाएझैँ लागेको छ शनिबार शल्यक्रियापछि आँखाको ज्योति पाएर खुसीले दङ्ग हुँदै लामाले भनिन् ।
उनीजस्तै सिन्धुपाल्चोक घर भै वडा नम्बर-५ थली बस्ने ७५ बर्षिय लक्ष्मण कोइरालाले पनि नयाँ ज्योति पाएकामा उपचारमा संलग्न चिकित्सक, अस्पताल र नगरप्रमुख उपेन्द्र कार्कीलाई धन्यवाद दिँदै खुसी मनाए ।
‘दुई वर्ष भएको थियो आँखामा समस्या देखिएको, आर्थिक अवस्थाका कारण बाहिर गएर उपचार गराउन पनि पाएको थिइनँ,’ कोइरालाले भने, ‘तर मेयर सापले सबैलाई अस्पतालसम्म लगेर निःशुल्क उपचारको व्यवस्था मिलाइदिनुभयो । नगर अस्पतालको एम्बुलेन्सले अस्पतालसम्म निशुल्क ल्याउने र पुर्याउने गरेको छ । उपचार पाएर प्रष्ट आँखा देख्ने भएको छु । अत्यन्त खुसी लागेको छ ।’
अन्धकारबाट फेरि यो संसार हामीलाई हेर्नकै लागिरहेछ जनाउँदै उनले नसोचेको सुख बुढ्यौलीमा पाएको अनुभूति भएको बताए ।
नगरकै वडा नम्बर-३ भद्रबासका ८१ वर्षीय पशुराम काफ्लेले बढ्दो उमेरसँगै कमजोर बन्दै गएका दुवै आँखाका ज्योति करिब-करिब गुमाइसकेका थिए । जब दुवै आँखाको ज्योति गुम्यो उनका लागि दिनरात एकनास बनेको थियो ।
१५ वर्षदेखि पूर्णरुपमा अन्य व्यक्तिका सहारामा अन्धकारमा जीवन बिताउन बाध्य उनी अहिले उज्यालो देख्न पाएपछि हर्षित छिन् ।
उनले मोतीबिन्दुका कारण दुई वर्षअघिदेखि पूर्णरुपमा दुवै आँखाको दृष्टि गुमाउनु परेको थियो । उनले निःशुल्क शल्यक्रिया पछि पुनः संसार देख्न पाएका छन् ।
उनले भने, ‘पन्ध्र वर्षदेखि आँखाले धुमिल देख्न थालेको थियो । केहि समयपछि पूरै केही देख्नै नसक्ने भएँ ।
पुनः संसार देख्न पाएपछि खुसी हुँदै आफ्नो शल्यक्रिया गर्ने चिकित्सक र यो कार्यक्रमको नगरलाई धन्यवाद दिए । उनले भने, ‘अब यो जुनीमा फेरि संसार देख्न पाउँछु जस्तो लागेको थिएन, मलाई सहारा दिने नानीबाबुको (नाती-नातिनी) अनुहार नै नदेखी मर्छु कि जस्तो लागेको थियो तर अहिले सबै देख्न पाए शरीर कमजोर भए पनि अब अरूको बोझ बन्नु पर्दैन भन्ने लागेको छ, यो उपकार गरिदिने सबै भगवानलाई धन्यवाद ।’
लामिछानेको दुवै आँखाको मोतिबिन्दुको शल्यक्रिया गर्नुपर्नेमा शनिबार एउटा आँखाको गरिएको छ भने अर्को शल्यक्रियाका लागि अस्पतालबाटै खबर गर्ने जानकारी गराउने छन् ।
नगरपालिका गत जेठ ३१ गतेबाट नगर अस्पतालमा आँखाका बिरामीहरुको निशुल्क आँखाको मोतिबिन्दुको शल्यक्रिया सुरु गरेको छ । हालसम्म ९६ जना मोतिबिन्दुका बिरामीको सफल शल्यक्रिया गरिसकिएको छ ।
नगरमै आँखाको शल्यक्रिया सुरु भएपछी गरिब, विपन्न, अशक्त, ज्येष्ठ नागरिक र बालबालिकालाई ठूलो राहत मिलेको नगरप्रमुख कार्कीको भनाइ छ ।
‘जेष्ठ नागरिक समाजका मार्गदर्शन हुन् । समाजमा सभ्यता र संस्कार सिकाएका छन् । बृद्ध भएपछि बिभिन्न प्रकारका रोगले च्याप्ने गरेको छ । हामीहरु जेष्ठ नागरिकका स्वास्थ्य प्रति अत्यन्त संबेदनशील छौं । ‘मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत टोलटोलमा पुगेर बिशेषज्ञ सेवा उपलब्ध गराउदै आएका छौं । मेयरसँग ज्येष्ठ नागरिक घरदैलो कार्यक्रमलाई प्राथमिकता दिएका छौं । जसअनुसार आवश्यकता अनुसार बिशेषज्ञ स्वास्थ्यकर्मीले घरमै पुगेर सेवा दिने व्यवस्था मिलाएका छौं । प्रत्येक जेष्ठ नागरिकलाई स्वास्थ्य बिमाको दायरामा ल्याउने काम भैरहेको छ । गत जेठ ३१ गतेबाट मोतिबिन्दुको शल्यक्रिया सुरु गरेका छौं ।” प्रमुख कार्कीले भने ।
जनप्रतिनिधि भएको हिसाबले आफ्ना नागरिक रोगसँग लडिरहँदा उपचारका लागि नगरले नागरिकको उपचार गर्नुपर्छ भन्ने मान्यताले आफूहरु लागि परेको नगरप्रमुख कार्कीले बताए ।