
असार, असार ७- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले नगरपालिकालाई योगमय नगरपालिका बनाउने घोषणा गर्नुभएको छ ।
शनिबार ११ औं अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आयोजित भव्य कार्यक्रममा नगरप्रमुख कार्कीले यस्तो बताउनु भएको हो ।
उहाँले भन्नुभयो, ‘हामी अहिले ठीक्क नयाँ आर्थिक वर्षको लागि नीति, योजना, कार्यक्रम तथा बजेट निर्माणको प्रक्रियामा पनि छौं । अब साउन १ गतेदेखि लागू हुने नीति, योजना र कार्यक्रममा योगले प्रमुख प्राथमिकता पाउनेछ । यहाँका विद्यालयदेखि हरेक टोलटोलमा र समाजका हरेक अवयवमा योगलाई प्रवर्धन गर्ने नीति तथा कार्यक्रमहरु हामी ल्याउनेछौं । यसै बर्षदेखि नगरपालिकालाई योगमय बनाउन नीति तथा कार्यक्रम समेट्ने प्रतिबद्धता गर्दछौं ।’
स्थानीयवासीको जीवनशैलीमा सुधारका लागि नगरपालिकाले सबै बस्तीमा बस्ने बासिन्दालाई योगमार्फत राष्ट्रभक्ति, स्वास्थ्यमा सुधार, सकारात्मक सोचाइ र समुन्नत समाज निर्माण गर्ने अभियानका साथ योगमय नगरपालिका बनाउन लागिरहेको नगर प्रमुख कार्कीको भनाई छ ।
उहाँकाअनुसार नगरपालिका भित्रका विद्यालय, सार्वजनिक भवन तथा सार्वजनिक स्थल योगका लागि प्रयोगमा ल्याइने छ ।
यस्तै कार्यक्रममा प्रमुख अतिथि श्री १००८ स्वामी डा. केशवानन्द गिरी महाराजले योगको मुल उद्देश्य दुःख निवृत्ति भएको बताउनुभएको छ । मानिसहरु भौतिक पदार्थ, बाह्य पदार्थ र आफै भित्रबाट गरी तीन चीजबाट दुःखी रहेको चर्चा गर्दै उहाँले ती तीनै चिजको दुःखबाट मुक्तिका लागि योग आवश्यक भएको जिकिर गर्नुभयो ।
स्वामी केशवानन्दले योगले दुःख निवारणमा महत्वपूर्ण भूमिका खेल्ने चर्चा गर्नुभयो । आफै भित्रबाट शान्ति प्राप्त गर्ने तरिका योग भएको उहाँले बताउनुभयो । साथै स्वामी केशवानन्दले भगवद् गीतामा पनि श्रीकृष्णले अर्जुनलाई आफैभित्रबाट शान्ति प्राप्त गर्नु महत्वपूर्ण कुरा भएको बताउनुभएको विषयमा चर्चा गर्नुभयो ।
नगरपालिकाको आयोजना र विश्व शान्ति अध्यात्म विज्ञान समाज, पतंजली योग समिति, जीवन विज्ञान, सेलिब्रेसन मेडिटेसन सेन्टरको सह-आयोजनामा बृहत कार्यक्रमको आयोजना गरिएको थियो ।