
काठमाडौं, असार १- कागेश्वरी मनोहरा नगरपालिकाले अन्तर्राष्ट्रिय योग दिवस भब्य रुपमा मनाउने भएको छ । आइतबार नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षता बसेको बैठकले जुन महिनाको २१औँ तारिख अर्थात् असार ७ गते शनिबार विविध कार्यक्रम गरी योग दिवस मनाउने निर्णय गरेको हो ।
११औं अन्तर्राष्ट्रिय योग दिवस मनाउन अन्तर्राष्ट्रिय योग प्रशिक्षक दिपक अधिकारीको संयोजकत्वमा ९ सदस्यीय समिति समेत गठन गरिएको छ । समितिको सह-सम्योजकमा पतन्जलि योग परिवार नेपालका जयराम घिमिरे रहेका छन् भने सदस्यहरुमा जीवन विज्ञानका नवराज अर्याल, अन्तर्राष्ट्रिय योग प्रशिक्षक विश्वनाथ दाहाल, सुमित्रा उप्रेती, सीता चौलागाई, कागेश्वरी मनोहरा आयुर्वेद औषधालय प्रमुख चिरन्जीवी रेग्मी, शिक्षा शाखा प्रमुख पुष्पराज ढकाल, र सदस्य सचिवमा स्वास्थ्य शाखा प्रमुख तुलजा लामा छन् ।
गठित समितिलाई व्यवस्थापन र तयारी गर्नुका साथै प्रमुख अतिथि र योग दिवस मनाउने स्थान निर्धारण गर्न नगरप्रमुख कार्कीले निर्देशन दिएका छन् ।
यस्तै आजको बैठकले नगरपालिकालाई पूर्ण योग नगरपालिका बनाउने निर्णय पनि गरेको छ । त्यसका लागि आगामी आर्थिक बर्ष २०८२/८३ मा नीति, योजना तथा कार्यक्रम निर्माण गरि बजेट ब्यबस्थापन गर्ने र टोल, विद्यालयमा यसको प्रवर्द्धन गर्ने, प्रशिक्षक उत्पादन गर्ने साथै योगको स्वास्थ्य तथा सामाजिक प्रभावको बारेमा अनुसन्धान गरि आवश्यक तथ्यांक प्रस्तुत गर्ने निर्णय गरिएको छ ।
संयुक्त राष्ट्रसंघको महासभाबाट पारित प्रस्तावअनुसार २१ जुनलाई विश्व योग दिवस मनाउन नेपाल सरकारले पनि २६ जेठ २०७३ मा निर्णय गरेको थियो ।
संयुक्त राष्ट्रसंघले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रुपमा मनाउन सुरु गरेको हो । अन्तर्राष्ट्रिय योग दिवस मनाउने व्यवस्थाका लागि सन् २०१४ मा संयुक्त राष्ट्रसंघको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले समर्थन गरेका थिए । यो प्रस्तावलाई हाल विश्वका धेरै देशले समर्थन गरिसकेका छन् ।
































