
काठमाडौं, जेठ २९- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ मा वडाअध्यक्ष घरदैलो स्वास्थ्य, शिक्षा, जनचेतना तथा स्वास्थ्य परिक्षण उद्घाटन गरिएको छ ।
बुधबार एक कार्यक्रमबीच उक्त कार्यक्रमको उद्घाटन गरिएको हो ।
यो कार्यक्रम आफुहरुले २०७५ सालदेखि नै सुरु गरेपनि बिचमा केहि समय रोकिएकोले यसलाई फेरी सुरुवात गरिएको वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेलले जानकारी दिए । केन्द्र सरकारको नारा अर्थात् निरोगी नेपाल निर्माण, त्यसैअनुरुप आफ्ना वडाभित्र बसोबास गर्ने सबैलाई निरोगी बनाउने अर्थात् स्वास्थ्य सेवाको पहुँचभित्र ल्याउने रहेको अध्यक्ष गजुरेलले बताए ।
उनले सबै देशबासीलाई स्वास्थ्य बिमाको दयाराभित्र ल्याउनु पर्ने र नसक्ने नागरिकको बीमा गर्ने दाहित्व स्थानीय तहले लिनुपर्ने बताए । उनले आफ्नो स्वास्थ्य बीमा गर्न नसक्ने वडाबासीको जिम्मा आफुहरुले लिने बताए । उनले भने, ‘नसक्ने व्यक्तिहरुको जिम्मा हामी लिन्छौं । त्यस्ता व्यक्तिहरुको तथ्यांक संकलन गरेर श्रोत खोजेर वा आफुहरुको भत्ता खर्च गरेर भएपनि वास्तविक समस्यामा परेका नगरबासी र वडाबासीको स्वास्थ्य बीमा गराउछौं ।’
आफुहरुले संचालन गरेको कार्यक्रमको मुख्य उदेश्य वडाभित्र बसोबास गर्ने दाजुभाइ दिदीबहिनीहरुको स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिने, कुन रोग लागेको छ ? पहिचान गर्ने र रोगको उपचार तथा निवारण गर्ने, बिरामी भएपछी मात्र अस्पताल जाने बानीको अन्त्य गर्नु रहेको उनको भनाइ छ ।
यस्तै सोहि कार्यक्रममा वडाअध्यक्ष गजुरेलले आफ्नो वडा पूर्ण खोप सुनिश्चितता वडा भएको घोषणा गरे । स्वास्थ्य र स्वंमसेविकाहरुले खोज खोप अभियान संचालन गरेर वडालाई पूर्ण खोप सुनिश्चितता वडा बनाउन योगदान गरेकोमा धन्यवाद पनि दिए । अब आफुहरुको भावी योजना पूर्ण साक्षरता घोषणा गर्नेतर्फ रहेको र कार्य अगाडी बढाउने उनले घोषणा गरे ।
कार्यक्रम स्वास्थ्य शाखा प्रमुख तुलाजा लामा, वडा सदस्यहरु तथा स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।