Hamro Sanchar

‘मेयरसँग ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’, २ सय ६० जेष्ठ नागरिकले लिए सेवा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १८ गते


काठमाडौं, जेठ १८- कागेश्वरी मनोहरा नगरपालिका-५ मा ‘मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा कार्यक्रम’ अन्तर्गत नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ । शनिबार थलीस्थित नगरपालिका भवन परिसरमा शिविर सञ्चालन भएको हो ।

शिविरमा सामान्य स्वास्थ्य परिक्षण, आँखा जाँच र चस्मा वितरण, मुटु रोग जाँच, हाडजोर्नी परिक्षण सेवा, फिजियोथेरापी सेवा, मनोपरामर्श सेवा, भिडियो एक्सरे सेवा, रक्त अल्पता परिक्षण, स्वास्थ्य परामर्श सेवा, दन्त रोग र नि:शुल्क स्वास्थ्य विमा लगायतका सेवाहरु उपलब्ध गराइएको थियो ।

शिविरबाट २ सय ६० ज्येष्ठ नागरिकले विशेषज्ञसहितको स्वास्थ्य सेवा लिएका छन् । उक्त संख्यामध्ये २ सय ४० जनाले ओपिडी सेवा, १ सय १६ जनाले दन्तरोग, १ सय ७३ आँखा जाँच सेवा, ५१ जनालाई चस्मा वितरण, ओर्थोपेडिक ओपिडी ६८, इको सेवा ३८, इसीजी ५१, भिडियो एक्सरे २६ र मनोपरामर्श सेवा ९ जनालाई प्रदान गरिएको हो । जसमा ३६ जनाको मोतिबिन्दु अपरेशन गर्नुपर्ने देखिएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।

शिविरमा मुटु रोग विषेशज्ञ डाक्टर रोशन कुमार झालगायतको टोलीले सेवा प्रदान गरेको हो ।

शिविरमा बिरामीलाई नि:शुल्क चेकजाँच गर्नुका साथै औषधी वितरण गरिएको थियो ।

शिविरलाई सम्बोधन गर्दै नगर प्रमुख उपेन्द्र कार्कीले ज्येष्ठ नागरिकको हक, हितका लागि सिंगो नगरपालिका लागि परेको बताए । ज्येष्ठ नागरिकको सम्मान स्वरूप मेयरसँग ज्येष्ठ नागरिक नि:शुल्क स्वास्थ्य सेवा कार्यक्रम संचालन गरिएको प्रमुख कार्कीले जानकारी दिए ।

प्रमुख कार्कीले शिविरको निरीक्षण गर्नुका साथै सेवा प्रदान गर्ने डाक्टरसहितको टोलीलाई धन्यवाद दिएका थिए । उनले ज्येष्ठ नागरिकहरुसँग कुराकानीसमेत गरेका थिए ।

शिविरमा विशेषज्ञसहितको उपचार गर्न पाउँदा स्थानीय बृद्धबृद्धाले खुसी व्यक्त गरेका थिए ।


प्रतिकृया दिनुहोस्