
काठमाडौं, जेठ १७- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-७ मा संचालित निशुल्क शिविरबाट पाँच सयभन्दा बढी महिलाले सेवा लिएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बिहिबार र शुक्रबार (दुई दिनसम्म) चलेको शिविरबाट उक्त संख्यामा स्थानीय महिलाहरुले सेवा लिएका हुन् ।
स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो । ४ सय ५६ जना महिलाको भिआईए जाँच गरिएकोमा ३ जनालाई भिआईए पोजेटिभ देखिएको थियो । उनिहरुलाई थर्मोकोगुलेटर प्रयोग गरि उपचार गरेर आवश्यक औषधी प्रदान गरिएको थियो ।
शिविरमा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।
शिविरलाई नगरप्रमुख उपेन्द्र कार्की, उप-प्रमुख शान्ता थापाले निरीक्षण गरेका थिए ।
स्वास्थ्य शाखाकाअनुसार महिलाहरुमा प्रजनन स्वास्थ्यको चेतना नहुँदा महिलाहरुमा भित्र भित्रै धेरै समस्या हुने हुनाले तत्कालै समस्या पहिचान गरी निदान गर्नका लागि यस्तो कार्यक्रम राखिएको हो ।