Hamro Sanchar

कागेश्वरी मनोहरा ७ मा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, १० गते


काठमाडौं, जेठ १०- कागेश्वरी मनोहरा वडा नम्बर ७ मा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । स्त्री रोग विशेषज्ञ डा.ज्योति अग्रवालको बिशेष उपस्थितिमा वडामा बसोबास गर्ने उल्लेख्य महिलाहरुको सहभागितामा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न भएको हो ।

आधारभूत स्वास्थ्य सेवा केन्द्र वडा नम्बर-७ को आयोजना तथा शितलनगर महिला समाजको संयोजनमा भएको उक्त कार्यक्रममा डा. अग्रवालले प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक बिषयबस्तु राख्नु भएको थियो । उहाँले पछिल्लो समय महिलाहरु आफ्नो स्वास्थ्यका बारेमा जागरुक बन्ने क्रम बढेपनि यौन तथा प्रजननको बिषयमा भने त्यति खुलेको नपाएको भन्दै आफ्नो जीवनमा भएका समस्यालाई खुलेर उजागर गर्न अनुरोध गर्नुभयो ।

डा. अग्रवालका अनुसार नेपालमा पाठेघर मुखको क्यान्सरबाट दैनिक ४ जना महिलाले ज्यान गुमाउने गरेको छ । नियमित जाँच गराएको वा खोप लगाएको खण्डमा यो रोगबाट जोगिन सक्ने उहाँको भनाई छ ।

मुख्यतया ३० बर्षको उमेरपछि हुने भएकाले यो उमेर समुहका महिला दिदीबहिनीहरु संयम र सजग हुनुपर्ने उहाँको भनाई छ । पाठेघरको मुखको क्यान्सर हुनुको मुख्य कारण सानै उमेरमा यौन सम्पर्क गर्नु, सानै उमेरमा बच्चा जन्माउनु, सरसफाईमा ध्यान नदिनु, धुम्रपान गर्नु, महिलाको श्रीमानले धुम्रपान गरेको खण्डमा महिलामा इन्फेक्सन हुने र पाठेघरको क्यान्सर हुने डा. अग्रवालले जानकारी दिनुभयो ।

उहाँले उपस्थितहरुबाट उठेका प्रश्नहरुको समेत जवाफ दिनुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख उपेन्द्र कार्कीले बिशेषगरी समाजमा महिलाहरुले आफ्नो  समस्या खुलेर भन्न नसक्ने र महिला दिदीबहिनीहरुमा बिबिध खालका स्वास्थ्य समस्याहरु भएका बताउनुभयो । पुरुषको तुलनामा महिलाहरुको संबेदनशील हुँदा पनि सचेतनाको कमीले अझै महिलाहरु बिबिध रोगको सिकार हुनुपरेको बताउनुभयो । उहाँले महिलाहरु गरगहना र लत्ताकपडामा पैसा खर्च गर्ने सक्ने तर एक बर्षमा एक पटक आफ्नो स्वास्थ्य जाँच गर्न हिच्किचाउनु आपत्तिजनक भएको भन्दै उहाँले बर्षमा खर्च गर्ने सामान खरिदमा कम गर्न र बर्षमा एक पटक डाक्टरसँग चेकजाँच गर्न जान सुझाव दिनुभयो ।

नगरपालिकाले महिला दिदीबहिनीहरुको स्वास्थ्य प्रति अति नै संबेदनशील भएर कार्यक्रमहरु लागु गरेको जानकारी दिनुभयो । उहाँकाअनुसार नगरपालिकाको स्वास्थ्यले उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत हरेक वडामा बर्षको २ पटक पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) लगायतका सेवा उपलब्ध गराएको छ ।

यसरी हेर्दा हरेक वडाका महिलाहरुमा बिभिन्न किसिमका रोगहरु देखा परेको नगरप्रमुख कार्कीको भनाई छ । महिला दिदीबहिनीहरु स्वास्थ्य भए समाज, टोल, वडा हुँदै नगर नै स्वास्थ्य हुने र समृद्ध नगर बन्न सक्ने उहाँको भनाई छ । नगर अस्पतालमा २ जना महिला रोग बिशेषज्ञ डाक्टरले दैनिक सेवा दिइरहेको र अबको ३ महिनाभित्र नगर अस्पतालको बर्थिंग सेन्टरमा अपरेसन थियटर सुरु हुने जानकारी दिनुभयो ।

उहाँले उपस्थित महिलाहरुलाई बर्षमा एक पटक डाक्टरमा गएर चेकजाँच गर्ने प्रतिबद्धता पनि गराउनु भएको थियो ।

आफ्नै वडामा प्रजनन स्वास्थ्य सम्बन्धी सचेतनामुलक कार्यक्रममा आयोजना गरेकोमा महिला समुह तथा उपस्थित महिलाहरुले खुसी व्यक्त गर्दै आयोजक वडा परिवार र संयोजनकर्तालाई धन्यवाद दिएका छन् ।


प्रतिकृया दिनुहोस्