
काठमाडौं, जेठ ८- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-६ मा संचालित निशुल्क शिविरबाट साँढे पाँच सय महिलाले सेवा लिएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा दुई चरणमा सम्पन्न शिविरबाट उक्त संख्यामा स्थानीय महिलाहरुले सेवा लिएका हुन् ।
स्वास्थ्य शाखाले गत जेठ २ गते (शुक्रबार) वडाको फुयाल गाउँस्थित मनोहरा पुस्तकालयमा सम्पन्न स्वास्थ्य परीक्षण कार्यक्रमबाट ३ सय १२ जना महिला लाभान्वित भएका थिए भने बिहिबार (आज) चखन्डोल युवा क्लबको रातोघरमा सम्पन्न स्वास्थ्य शिविरमा २ सय ५६ जना महिलाले बिभिन्न प्रकारका सेवाहरु नि:शुल्क प्राप्त गरेका हुन् ।
उक्त संख्या नगरपालिकाभरी सेवा लिने अन्य वडाको तुलनामा सबैभन्दा धेरै हो ।
स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो । फोकल पर्सन रमिता तामाङका अनुसार जसमा VIA पोजेटिभ २ जनालाई देखिएको थियो । उनिहरुलाई थर्मोकोगुलेटर प्रयोग गरि उपचार गरेर आवश्यक औषधी प्रदान गरिएको थियो ।
शिविरमा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।
शिविरलाई सम्बोधन गर्दै उपप्रमुख शान्ता थापाले नगरपालिकाभित्रका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी यस्तो कार्यक्रम अघि सारेको बताइन् । प्रजनन स्वास्थ्यको चेतना नहुँदा महिलाहरुमा भित्र भित्रै धेरै समस्या भैरहेको भन्दै उनले तत्कालै समस्या पहिचान गरी निदान गर्नका लागि शिविर सञ्चालन गरिएको उल्लेख गरिन् ।
वडाबासी महिलाहरुमा पाठेघरका समस्या बढि हुने गरेको तर चेतनाको कमीले उपचार नगराउने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि शिविरको आयोजना गरिएको वडाअध्यक्ष प्रकाश फुयालले बताए ।
“घरका महिलाहरुमा कामको चाप बढि हुने गरेको र सुत्केरी स्याहारमा खासै ध्यान नदिने भएकाले उनीहरुमा पाठेघरको समस्या बढि हुन गरेका देखिएको छ, ति महिलाहरुमा पाठेघर सम्बन्धि क्यान्सर जस्ता गम्भिर समस्या नहोस भन्ने उद्देश्यका साथ यो शिविर संचालन गरिएको हो ।” वडाअध्यक्ष फुयालले भने ।
ठुलो वडा भएका कारण २ चरणमा शिविर संचालन गरिएको उनले जानकारी दिए । साँढे पाँच सय महिलाले सेवा लिनु महत्वपूर्ण उपलब्धि भएको बताउदै उनले प्रचारप्रसारलाई जोड दिएको पनि बताए ।
सामाजिक संजाल, माइकिङ, पर्चालगायत प्रचारप्रसारमा आफ्नै निजी सवारी साधन प्रयोग गरेर प्रचार-प्रसार गरिएको वडाअध्यक्ष फुयालले बताए ।






















