Hamro Sanchar

कागेश्वरीमा उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रम प्रभावकारी बन्दै, एकैदिन ३ सय बढी लाभान्वित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ जेठ, ३ गते


काठमाडौं, जेठ ३- कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ की भगवती न्यौपाने तल्लो पेट दुख्ने, सेतोपानी वग्ने र पाठेघरको मुख चिलाउने समस्याले एक वर्षदेखि पीडित थिइन् । नगरपालिकाले सञ्चालन गरेको उपप्रमुख महिला प्रजनन स्वास्थ्य कार्यक्रममा परीक्षण गर्न पाएपछि उनी खुशी छिन् । ‘यहाँ आएपछि मलाई धेरै राम्रो भएको छ । धेरै औषधी निशुल्क पाईन्छ,’ न्यौपानेले भनिन् ।

कार्यक्रमकी सम्योजक लक्ष्मी कोइरालाका अनुसार नगरपालिकाको वडा नम्बर-६ मा शुक्रबार भएको उपप्रमुख महिला प्रजनन् स्वास्थ्य परीक्षण कार्यक्रमबाट न्यौपाने जस्ता ३ सय १२ जना महिला लाभान्वित भएका छन् । ठुलो वडा भएकाले पहिलो चरणमा शुक्रबार फुयाल गाउँमा स्वास्थ्य शिविर राखिएको थियो ।

प्रत्येक वडामा सञ्चालन हुने प्रजनन स्वास्थ्य स्वास्थ्य परीक्षण कार्यक्रममा काठमाडौं उपत्यकाभित्रका महिला विशेषज्ञ डाक्टरसहित स्वास्थ्यकर्मीको टोली कागेश्वरी आउँछन् । यसअघि उपचारका लागि नाम चलेका र महंगा अस्पताल पुग्न बाध्य स्थानीय महिला अहिले आफ्नै पालिकाभित्र सेवा पाउँदा दंग छन् ।

सोहि वडाकी मुना चौलागाँई नगरपालिकाले सञ्चालन गरेको प्रजनन् स्वास्थ्य परीक्षण कार्यक्रमबाट धेरै फाईदा भएको बताउछिन् । ‘म आफै ३÷४ वर्षदेखि पाठेघरको समस्या भोगेको मान्छु हुँ । पहिला काठमाडौं थापाथली, क्यान्सर अस्पताल गएँ । क्यान्सर अस्पतालमा त पाठेघर नै फाल्नुपर्छ भनेको थियो तर यहाँ आएपछि पाठेघर पनि फाल्नुपरेन । अहिले धेरै राम्रो भएको छ,’ चौलागाँईले भनिन् ।

आइतवार स्वास्थ्य शिविरमा भेटिएकी अम्बिका तिमिल्सिनाले भनिन्, ‘यो कार्यक्रमले हामीजस्ता विपन्न र मध्यम वर्गका महिलाहरुलाई धेरै फाईदा भएको छ । नगरपालिकालाई धेरै धन्यवाद दिन चाहन्छौ ।’

उप प्रमुखसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा शुक्रबार संचालन गरिएको पहिलो चरणको शिविरबाट उक्त संख्यामा महिलाले बिभिन्न प्रकारका सेवाहरु नि:शुल्क लिएका हुन् ।

स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो ।

शिविरमा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।

शिविरलाई सम्बोधन गर्दै उपप्रमुख शान्ता थापाले नगरपालिकाभित्रका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको बताइन् । प्रजनन स्वास्थ्यको चेतना नहुँदा महिलाहरुमा भित्र भित्रै धेरै समस्या भैरहेको भन्दै उनले तत्कालै समस्या पहिचान गरी निदान गर्नका लागी शिविर सञ्चालन गरिएको उल्लेख गरिन् ।

वडाबासी महिलाहरुमा पाठेघरका समस्या बढि हुने गरेको तर चेतनाको कमीले उपचार नगराउने भएकाले प्रजनन स्वास्थ्य सम्बन्धि शिविरको आयोजना गरिएको वडाअध्यक्ष प्रकाश फुयालले बताए ।

“घरका महिलाहरुमा कामको चाप बढि हुने गरेको र सुत्केरी स्याहारमा खासै ध्यान नदिने भएकाले उनीहरुमा पाठेघरको समस्या बढि हुन गरेका देखिएको छ, ति महिलाहरुमा पाठेघर सम्बन्धि क्यान्सर जस्ता गम्भिर समस्या नहोस भन्ने उद्देश्यका साथ यो शिविर संचालन गरिएको हो ।”

ठुलो वडा भएका कारण २ चरणमा शिविर संचालन गरिएको छ । दोश्रो चरणको शिविर ८ गते चखण्डाेल युवा क्लबकाे राताे भवनमा हुने हुनेछ । यसअघि पनि आफ्नै निजी सवारी साधन प्रयोग गरेर प्रचार-प्रसार गरेको जानकारी दिँदै वडाअध्यक्ष फुयालले आगामी ८ गतेको शिविरमा धेरै-धेरैभन्दा महिलाहरुको सहभागिताका लागि माइकिङ, पर्चाको काम भैरहेको बताए ।


प्रतिकृया दिनुहोस्