
काठमाडौं, चैत ३१- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाले रामेछापको मन्थली नगरपालिकालाई ६० लाख रुपियाँ बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।
नगरपालिकाले सोडियम पोटासियम एनालाइजर मेसिन एक सेट, बायोकेमेष्ट्री एनालाइजर (फुल अटोमेटिक) एक सेट, D.I. प्लान्ट मेसिन एक सेट, अटो हेमाटोलोगी अनालाइजर मेसिन एक सेट, क्रोमा आईआई एनालाइजर पिओसिटी अनालाइजर मेसिन एक सेट गरेर हालको बजार मुल्यअनुसार ३९ लाख ५० हजार रुपियाँको स्वास्थ्य उपकरण र रिएजेन्ट गरेर ६० लाख बराबरको सहयोग गरेको हो ।
कागेश्वरी मनोहरा नगर अस्पतालमा सेरो ल्यावसंगको सहकार्यमा अत्याधुनिक ल्याव सेवा शुरु भएपछी आफुसँग भएका उक्त उपकरणहरु मन्थली नगर अस्पताललाई हस्तान्तरण गरेको हो ।
उपकरण कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले मन्थली नगरपालिकाका मेयर लब श्रेष्ठलाई हस्तान्तरण गरेका हुन् । नगर अस्पतालमा भएको हस्तान्तरण कार्यक्रममा उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, नगर प्रवक्ता हरिभक्त पुडासैनी, वडा नम्बर-१ का अध्यक्ष मकुन्द गजुरेल, वडा नम्बर-६ का अध्यक्ष प्रकाश फुयाल, नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेल, मेडिकल सुपरिटेन्डेन अनमिका सिंहलगायत स्वास्थ्य सँग सम्बन्धित व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।
सामाग्री हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरीका मेयर कार्कीले स्वास्थ्यसँग सम्बन्धित सामाग्री मन्थली नगरपालिकालाई हस्तान्तरण गरेर २०८१ साललाई प्रेमपुर्वक बिदाई गर्न पाएकोमा खुसी व्यक्त गरे । उनले मन्थलीका मेयर श्रेष्ठमार्फत त्यहाँका सम्पूर्ण नगरवासीको स्वास्थ्य लाभको कामना गरे ।
अन्य नगरपालिकाले पनि सामाग्री बारे चासो व्यक्त गरेपनि अस्पतालका सेवा, सुबिधा, विरामीको चाप र त्यहाँको बस्तुस्थितिको अध्ययन गरेर मन्थली नगरपालिकालाई उक्त सामाग्री प्रदान गरिएको जानकारी दिए ।
यस्तै कार्यक्रममा मन्थली नगरपालिका मेयर श्रेष्ठले आगामी दिनमा दुई स्थानीय तहका बीचमा भएका सम्बन्धलाई थप मजबुत पार्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
उनले आगामी दिनमा यस्तै प्राविधिक तथा आपसी सहयोग आदान-प्रदान गरी सञ्चालन गर्ने, संयुक्त साझेदारीमा पर्यटन प्रवर्द्धन गर्न सहयोग पुग्ने खालका परियोजना सञ्चालन गर्न प्रतिवद्धता समेत ब्यक्त गरे ।