
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले छुट खोप (Missed Vaccination) भएका बालबालिकाको पहिचान र खोप सेवामा समेट्ने उद्देश्यले नगरपालिकाभर स्वयंसेविकाहरू परिचालन गरेको छ। घरदैलो अभियानमार्फत स्वयंसेविकाहरूले खोप छुटेका बालबालिकाको तथ्यांक संकलन गर्दै अभिभावकलाई खोपको महत्त्वबारे सचेत गराइरहेका छन्।
स्वास्थ्य शाखाकाअनुसार नगरपालिकाले शहरी/ बिशेष समुदाय/उद्योग र निर्माण स्थल/ छुट खोपका जोखिम समुदाय तथा सीमा क्षेत्रमा शुन्य डोज र खोप छुट भएका बालबालिकाहरुको पहिचान गरि खोप लगाउने व्यवस्था साथै खोप लगाएको सुनिश्चित गर्न हिजोबाट आउँदो सोमबारसम्म स्वयंसेविका परिचालन गरेको हो।
नगरपालिकाको यो पहलले नियमित खोप सेवाबाट वञ्चित बालबालिकालाई सुरक्षित बनाउने छ। अभियानले बाल स्वास्थ्य सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नगरपालिकाले सबै अभिभावकलाई आफ्ना बालबालिकाको खोप अवस्था सुनिश्चित गर्न र स्वयंसेविकासँग सहकार्य गर्न अनुरोध गरेको छ।


















