
काठमाडौं । कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा आवेदन नपरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुन दुखि भएका छन् पोखेका छन् । दुईपटक विज्ञापन गर्दा पनि कसैको आवेदन नपरेको भन्दै मन्त्री पुनले दुखेसाे पोखेका हुन् ।
‘सुदूरपश्चिम प्रदेश धनगढीनजिकै रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदका लागि दुईपटक विज्ञापन गर्दा पनि कसैको निवेदन परेन’, मन्त्री पुनले फेसबुकमा लेखेका छन्, ‘मातृभूमिलाई सेवा गर्ने उद्देश्यले स्वास्थ्य क्षेत्रमा प्रा.डा.भई १० वर्ष काम गरेको कोही नेपाल आमाको देशभक्त सन्तान हुनुहुन्छ भने निवेदन दिनुहोस् अथवा मलाई नै सम्पर्क गर्नुहोस् ।’
विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रारका लागि सिफारिस समितिले १५ कात्तिकमा १५ दिनको अवधि राख्दै आवेदन माग गरेको थियो । तर, उपकुलपतिका लागि आवेदन नपरेपछि ५ मंसिरसम्म म्याद थप गरिएको थियो । तर, थप गरिएको म्यादमा पनि आवेदन नपरेको उपकुलपति र रजिस्ट्रार नियुक्तिका लागि सिफारिस समितिका संयोजक तथा विश्वविद्यालयसभाका सदस्य प्रा.डा. जयराज अवस्थीले जानकारी दिए ।



















