Skip

Hamro Sanchar

कागेश्वरीको जनस्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा : आलापोट स्वास्थ्य चौकी प्रथम

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ कात्तिक, २० गते


काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले जनस्वास्थ्य कार्यक्रमको बार्षिक समीक्षा सम्पन्न गरेको छ । नगरपालिकाको स्वास्थ्य शाखाले बुधबार आर्थिक बर्ष २०८१/८२ बार्षिक समिक्षा सम्पन्न गरेको हो ।

जसअनुसार नगरपालिकाको स्वास्थ्य संस्थाहरुको आन्तरिक मुख्य सूचकहरुको मूल्यांकनका आधारमा वडा नम्बर-२ मा रहेको आलापोट स्वास्थ्य चौकी प्रथम भएको छ । यस्तै वडा नम्बर-५ मा रहेको डाँछी स्वास्थ्य चौकी दोश्रो र कागेश्वरी मनोहरा नगर अस्पताल तेश्रो भएको छ ।

स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकन गर्ने सूचकमा सेवा प्रवाह, सूचना आदान प्रदान, कार्यालय व्यवस्थापन, प्रविधिको ज्ञान लगायत छन् । यी सूचकलाई स्कोरिङ गर्दा आलापोट स्वास्थ्य चौकी पहिलो भएको हो ।

प्रथम, दोश्रो र तेस्रो हुनेहरु अस्पताल र स्वास्थ्य चौकीलाई नगरप्रमुख उपेन्द्र कार्की, जनसंख्या ब्यबस्थापन महाशाखा तथ्यांक अधिकृत पुस्कर बिजेक्छे, स्वास्थ्य कार्यालय टेकुका भ्यक्टर कन्ट्रोल निरीक्षक गीता आचार्य, परिवार नियोजन संघका सरद अर्याल लगायतले प्रमाणपत्र वितरण गरेका थिए ।

नगरपालिकामा ९ वटा स्वास्थ्य संस्था र एक नगर अस्पतालसहित १० वटा स्वास्थ्य संस्था रहेका छन् । बार्षिक समीक्षा कार्यक्रममा १० वटै स्वास्थ्य संस्था र एक विद्यालय एक नर्स कार्यक्रम अन्तर्गत नगरपालिकाभित्रका विद्यालयमा कार्यरत नर्सहरुले बार्षिक उपलब्धि प्रस्तुत गरेका थिए ।

समीक्षा कार्यक्रमले सेवा गुणस्तर सुधार्ने, कमजोरी पत्ता लगाउने, स्रोतको प्रभावकारी उपयोग गर्ने र संस्थालाई अझ जिम्मेवार र पारदर्शी बनाउने नगरप्रमुख कार्कीको विश्वास छ ।

स्वास्थ सुचकहरुमा सबै स्वास्थ संस्थाले गत बर्षको भन्दा प्रगती गरेको स्वास्थ शाखा प्रमुख तुलाजा लामाले बताइन् ।


प्रतिकृया दिनुहोस्