
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकार एक्लैले मात्र निःशुल्क स्वास्थ्य, शिक्षा उपलब्ध गराउन नसक्ने बताएका छन् काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक रहेको उनले उल्लेख गरे । शिक्षा र स्वास्थ्यमा राज्यको लगानी धेरै कम रहेको उनले बताए । यसमा धेरै गर्न सक्ने स्थिति पनि नरहेको उनको भनाइ थियो ।
सहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्न सक्ने स्थिति बनेको उनले बताए।
मन्त्री पौडेलले ग्रामीण क्षेत्रलाई मध्यनजर गरी शिक्षालय र स्वास्थ्य संस्थाहरू खोल्न जरुरी रहेकामा जोड दिए ।
कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलको भनाइ पढ्नोस्–
शिक्षा र स्वास्थ्यमा सामुदायिक योगदान आवश्यक छ । सरकार मात्रैले निःशुल्क स्वास्थ्य वा निःशुल्क शिक्षा उपलब्ध गराउन सक्ने स्थिति छैन । खासगरी राज्यले आज जति लगानी गरेको छ, त्यो लगानी असाध्यै थोरै छ । राज्यको लगानी धेरै लगानी गर्न सक्ने खालको पनि छैन । योगदान पुर्याउन सक्ने नागरिकलाई शिक्षा र स्वास्थ्यमा जोड्न जरुरी छ । यसलाई व्यवस्थित ढंगबाट हामीले अघि बढाउन आवश्यक हुन्छ । सहरी क्षेत्रमा जेनतेन नागरिकले शिक्षा र स्वास्थ्यलाई गुणस्तरीय ढंगबाट प्राप्त गर्न सक्ने स्थिति बनेको छ । तर, ग्रामीण क्षेत्रमा जस्तो छ, त्यसको विकल्पको स्थिति बनेको छैन ।


















