
काठमाडौं, असार १९- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको छ । ‘पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ खोप समन्वय समितिले बिहिबार घोषणा गरेको हो ।
जिल्ला जन-स्वास्थ्य कार्यालय काठमाडौंकी खोप फोकलपर्सन प्रविना कर्माचार्यले पूर्ण खोप सुनिश्चितता घोषणा गरिन् । भने नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता प्रमाणपत्र जिल्ला जन-स्वास्थ्य कार्यालय टेकुका प्रमुख बसन्त अधिकारीले नगरप्रमुख उपेन्द्र कार्कीलाई हस्तान्तरण गरेका हुन् ।
सबै वडालाई पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको र हाल सोही तथ्याङ्क र सूचकका आधारमा पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गरिएको स्वास्थ्य शाखाले बताएको छ । शाखाकाअनुसार राष्ट्रिय खोप तालिका अनुसार नगरका ९ वटै वडाका खोप लगाउने उमेर समूहका बालबालिकाले खोप लगाएको सुनिश्चित गरिएपछि पूर्ण खोपयुक्त सुनिश्चित पालिका घोषणा गरिएको हो ।
खोप लगाउने उमेर समूहका सबै बालबालिकाले खोप लगाएको सुनिश्चित भएपछि नगरपालिकालाई पूर्ण खोपयुक्त पालिका सुनिश्चितता घोषणा गरिएको जन-स्वास्थ्य कार्यालय टेकुका प्रमुख अधिकारीले जानकारी दिए ।
उत्साह र उमङ्गका साथ काम गरेकोले पूर्ण खोप बनाउन सकिएको र यसलाई निरन्तरता पाउनु ठुलो विषय भएकोले आगामी दिनमा पनि अभियानकै रूपमा सञ्चालन गर्ने नगरप्रमुख कार्कीले बताए । स्थानीय तहका स्वाथ्य कर्मचारीहरुले जनताको जीवन रक्षाका लागि अहम भूमिका निर्वाह गर्दै आइरहेको बताउँदै प्रमुख कार्कीले स्वाथ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गरे ।
सो अवसरमा नगरप्रमुख कार्कीले खोपले बालबालिकामा विभिन्न रोगबाट बच्ने प्रतिरोधात्मक क्षमता बढ्ने भएकाले खोपबाट बालबालिकालाई वञ्चित गराउन नहुने बताए ।
कार्यक्रममा सम्पूर्ण वडालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना वडा घोषणाको प्रमाणपत्र वितरण गरिएको छ । साथै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रमलाई योगदान पुर्याउने स्वास्थ्य संस्था प्रमुख तथा फोकल पर्सनलाई प्रमाणपत्र वितरण र नगरपालिकाको तर्फबाट उत्कृष्ट खोप कार्यकर्ताको रुपमा गागलफेदी स्वास्थ्य चौकीमा कार्यरत सि.अ.न.मी. गीता ढकाललाई नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।
कार्यक्रममा ६० वर्ष उमेर नाघेका महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई नगदसहित सम्मान र प्रमाणपत्र प्रदान गरिएको छ ।
नगरपालिका खोप फोकल पर्सन ज्ञानबहादुर महतद्धारा संचालित कार्यक्रममा शाखा प्रमुख तुलाजा लामाले स्वागत मन्तब्य दिएकी थिइन् भने कार्यक्रममा उप-प्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला, वडा नम्बर १ का अध्यक्ष मकुन्द गजुरेलले शुभकामना मन्तब्य दिएका थिए ।