Hamro Sanchar

विराटनगरमा कोरोना संक्रमणबाट एक जना महिलाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ असार, १० गते


विराटनगर । विराटनगरमा कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण भएर इलामको सूर्योदय नगरपालिकाबाट उपचारका लागि विराटनगरस्थित नोवेल अस्पताल ल्याइएकी ती महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङकी प्रवक्ता डीएसपी कोपिला चुडालका अनुसार इलामकी ४१ वर्षीया महिलाको उपचारको क्रममा मृत्यु भएको हो ।

ती महिला झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालबाट रिफर भएर नोबेल शिक्षण अस्पतालमा थप उपचारका लागि आएकी थिइन् । सोमबार अस्पतालमा भर्ना भएकी उनको मंगलबार बिहान ६ बजे उपचारकै क्रममा मृत्यु भएको थियो

कोरोनाको नयाँ भेरिएन्ट आएपछि नेपालमा मृत्यु भएको यो पहिलो केश हो । मृतकको शव परिवारले बुझिसकेको प्रहरीले जनाएको छ ।

नोबेलमा उपचारका लागि आएकी महिलामा श्वासप्रश्वाससम्बन्धी समस्या रहेको बताइएको छ । उनी एक साताभन्दा लामो समयदेखि बिरामी रहेको पाइएको अस्पतालका प्रबन्धक दीपेश राईले जानकारी दिए ।

कोशी प्रदेशको मोरङ, झापा र इलाममा गरी पछिल्लो समय ८ जनामा कोरोना पुष्टि भएको प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले जनाएको छ । ती संक्रमितमध्ये झापाका ४, मोरङका २ र इलामका १ जनाको उपचार भइरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्