Hamro Sanchar

कागेश्वरीमा बीमा बर्ष : ९ महिनामा दोब्बरले बढे सेवाग्राही, आम्दानी महिनामा ८० लाखमाथि

प्रदिप नेपाली प्रकाशित : २०८२ बैशाख, १६ गते


काठमाडौं, बैशाख १६- बीमा बर्ष घोषणा गरेसँगै कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित कागेश्वरी मनोहरा नगर अस्पतालमा सेवाग्राहीको संख्या ह्वात्तै बढेको छ ।

आर्थिक बर्ष २०८०/८१ मा जम्मा १९ हजार ५ सय ६३ जना बिमितले सेवा लिएकामा चालु आर्थिक बर्षको चैत महिनासम्म त्यसको दोब्बरले वृद्धि भएको छ । नगर अस्पतालकी बीमा फोकल पर्सन प्रज्ञा पाण्डेकाअनुसार चालुआर्थिक बर्षको ९ महिनामा ४१ हजार ५ सय ७४ जनाले स्वास्थ्य बीमामार्फत सेवा लिएका छन् ।

नगर अस्पतालमा २०७८/७९ मा ४ सय ३२ जना, २०७९/८० मा ४ हजार ६ सय १२ जना, २०८०/८१ मा १९ हजार ५ सय ६३ जनाले सेवा लिएका हुन् ।

स्वास्थ्य बीमा बर्ष कार्यक्रम सुरुवात भएपछि नगरअस्पतालबाट मासिक ८० लाखभन्दा बढी आम्दानी हुने गरेको छ । अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलकाअनुसार गत बर्ष २०८०/८१ को चैतमा २२ लाख ७२ हजार २ सय ८३ रुपियाँ मात्र आम्दानी गरेकोमा चालु आर्थिक बर्ष २०८१/८२ को चैत महिनामा मात्रै ८० लाख ३ हजार ७ सय ६ रुपियाँ आम्दानी भएको छ । यसरी हेर्दा बीमामार्फत स्वास्थ्य सेवा लिनेको संख्या बढ्नुका साथै अस्पतालले आर्थिक आम्दानी पनि गरेको छ ।

अस्पतालकाअनुसार चालु आर्थिक बर्षको पहिलो महिना ३४ लाख ८४ हजार ६ सय ६४, भदौमा ३४ लाख ८० हजार २ सय ६९ रुपियाँ, असोजमा ३४ लाख २३ हजार ६ सय ५०, कात्तिकमा ३८ लाख ८४ हजार ५ सय ८ रुपियाँ, मंसिरमा ४६ लाख ७ सय ६० रुपियाँ, पुसमा, ५२ लाख २१ हजार ९ सय ९९, माघ महिनामा ५६ लाख ७८ हजार ७ सय २९ रुपियाँ, फागुनमा ७० लाख ३० हजार ७ सय ५७ रुपियाँ र चैत महिनामा सबैभन्दा बढी ८० लाख ३ हजार ७ सय ६ रुपियाँ आम्दानी भएको हो ।

नगरपालिकामा २०७९ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । नगरपालिकाले आर्थिक बर्ष २०८१/८२ लाई बीमा बर्ष घोषणा गर्दै गत पुस अन्तिम साताबाट कर्मचारी र जनप्रतिनिधिको निशुल्क स्वास्थ्य बीमा गर्दै कार्यक्रमको सुरुवात गरेको थियो ।

चरणबद्ध रुपमा बीमा कार्यक्रम संचालन गरेको नगरपालिकाका बीमा फोकल पर्सन बाबु मगरले जानकारी दिए । उनकाअनुसार दोश्रो चरणमा नगरपालिकामा स्थायी बसोबास गर्ने दलित समुदाय, विपन्न परिवार, अल्पसङ्ख्यक, एकल महिला र फरक क्षमता भएकाहरुको, तेश्रो चरणमा जेष्ठ नागरिक, महिला समुह, कृषि समुहलाई अनुदानमा बीमित गर्ने कार्य संचालन भैरहेको छ । यसैगरी चौथो चरणमा संस्थागत विद्यालयमा सहुलियतमा स्वास्थ्य बीमा हुनेछ ।

१ लाख ३८ हजार जनसंख्या भएको नगरका सबै नागरिकलाई यस बर्षभित्र बीमाको पहुँच र दायरामा ल्याउने नगरपालिकाको योजना रहेको छ ।

३३ हजार ७ सय ६४ परिवार रहेको नगरपालिकाका ११ हजार ५ सय ५८ परिवार बीमाको दायरामा आएका छन् । बीमाका लागि नगरपालिकाले नगरअस्पतालसहित प्रत्येक वडामा एक जना दर्ता सहयोगी परिचालन गराइएको छ ।

‘बीमा बर्ष’ कार्यक्रमका लागि नगरले चालु आर्थिक बर्षका लागि २ करोड बजेटसमेत छुट्याएको छ ।

सोमबार स्वास्थ्य बीमा कार्यक्रमको बैठक तथा समीक्षा कार्यक्रमको आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाइ सम्बोधन गर्दै नगरप्रमुख उपेन्द्र कार्कीले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी यो बर्षलाई स्वास्थ्य बीमा वर्षका रुपमा संचालन गरिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन बीमा दर्ता सहयाेगीलाई निर्देशन दिए ।

यस्तै नगरप्रमुख कार्कीले नगर अस्पतालमा बिशेषज्ञसहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएकाले स्वास्थ्य बीमा कार्यक्रममा जोडिन नगरबासीलाई अनुरोध गरे । उनले नगर अस्पतालबाट उपलब्ध हुने सेवा र सुबिधा कुनैपनि हालतमा कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे ।

नगर अस्पतालमा ठुला भनिएका अस्पतालमा दिने जस्ता सबै किसिमका सेवाहरु उपलब्ध भएकाले स्वास्थ्य सेवा लिन नगरबासीलाई अनुरोध गरे ।

यसरी गर्न सकिन्छ बीमा

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपियाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।

स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।

२०७२ चैत्र २५ गते पहिलो पटक स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो ।


प्रतिकृया दिनुहोस्