
काठमाडौं, बैशाख ११- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर-१ को गागलमा संचालन गरिएको शिविरमा २ सय ३२ महिला लाभान्वित भएका छन् ।
नगरपालिकाको स्वास्थ्य शाखाको आयोजनामा आइतबार र सोमबार संचालन भएको शिविरबाट उक्त संख्यामा महिलाले बिभिन्न प्रकारका सेवाहरु नि:शुल्क लिएका हुन् ।
स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सरको जाँच, स्तन क्यान्सर सम्बन्धि जाँच, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो । जसमा VIA पोजेटिभ ४ जना मध्ये ३ जनालाई थर्मोकोगुलेटर मेसिनबाट जाँच गरिएको स्वास्थ्य शाखा अधिकृत लक्ष्मी कोइरालाले जानकारी दिइन् ।
शिविरमा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार १ सय ६८ जनालाई नि:शुल्क औषधी वितरण गरिएको थियो ।
शिविरको उद्घाटन उपमेयर शान्ता थापाले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर थापाले नगरपालिकाभित्रका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको बताइन् ।
यस्तै सोमबार र मंगलबार डाँछी स्वास्थ्य चौकीमा उपमेयर प्रजनन स्वास्थ्य सेवा कार्यक्रम हुने बताइएको छ ।