Hamro Sanchar

वडा कार्यालय र सबै बिषयगत शाखालाई स्वास्थ्य बीमा गर्न नगरपालिकाको परिपत्र

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, २२ गते


काठमाडौं, पुस २२- कागेश्वरी मनोहरा नगरपालिकाले नौं वटै वडा र सबै बिषयगत शाखालाई स्वास्थ्य बीमा गर्न परिपत्र गरेको छ ।

नगरपालिकाले पहिलो चरणमा पुस २५ गतेभित्र ५० जना जनप्रतिनिधि र नगरपालिका, वडा कार्यालय, सार्वजनिक विद्यालय, स्वास्थ्य संस्था, अस्पतालमा कार्यरत ९ सयभन्दा बढी कर्मचारीहरुको अनुदान मार्फत विमित गराउन लागेको छ ।

नगरपालिकाले पहिलो चरणमा आइतबार नगर अस्पतालमा कार्यरत कर्मचारीको बीमा गरेर निशुल्क स्वास्थ्य बीमाको उद्घाटन गरिसकेको छ ।

स्वास्थ्य बीमा संयोजन समितिका अध्यक्ष नगरप्रमुख उपेन्द्र कार्कीको अध्यक्षतामा गत पुस २ गते बसेको बैठकले चालुआर्थिक बर्षलाई ‘बीमा बर्ष’का रुपमा मनाउने र चरणबद्ध रुपमा स्वास्थ्य बीमा गर्ने निर्णय गरेको थियो ।

त्यसैअनुरुप सोमबार प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले नौं वटै वडा र बिषयगत शाखालाई स्वास्थ्य बीमा गर्न परिपत्र गरेका हुन् ।

जसका लागि नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपि एक, जनप्रतिनिधिको हकमा निर्वाचित प्रमाणपत्रको प्रतिलिपि, पासपोर्ट साइजको फोटो एक प्रति र परिवार सदस्यको फोटो एक/एक प्रति, कर्मचारीको हकमा कर्मचारी संकेत नं. तथा कर्मचारी परिचय पत्रको प्रतिलिपि चाहिने बताइएको छ ।

उक्त कागजातहरुसहित दर्ता सहयोगीलाई समन्वय गरि स्वास्थ्य बीमामा बिमित गर्न भनिएको छ ।

‘बीमा बर्ष’ कार्यक्रमका लागि नगरले चालु आर्थिक बर्षका लागि २ करोड बजेटसमेत छुट्याएको छ । जनप्रतिनिधि र कर्मचारीको बीमाको लागि मात्र ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।

उनीहरुको बीमा यहि पुस २५ गतेभित्र गरिसक्ने र फागुन २५ गतेदेखि नै लागु हुनेगरी बीमा गरिने स्वास्थ्य शाखाले जनाएको छ । जसका लागि प्रत्येक वडामा बीमा सहयोगी परिचालन गरिनेछ ।

यस्तै दोश्रो चरणमा नगरपालिकामा स्थायी बसोबास गर्ने दलित समुदाय, विपन्न परिवार, अल्पसङ्ख्यक, एकल महिला र फरक क्षमता भएकाहरुको भने तेश्रो चरणमा जेष्ठ नागरिक, महिला समुह, कृषि समुहको अनुदानमा बीमा गरिनेछ ।

यसैगरी चौथो चरणमा संस्थागत विद्यालयमा सहुलियतमा स्वास्थ्य बीमा गरिनेछ । १ लाख ३८ हजार जनसंख्या भएको नगरका सबै नागरिकलाई यस बर्षभित्र बीमाको पहुँच र दायरामा ल्याउने नगरपालिकाको योजना रहेको छ ।

यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराका जनप्रतिनिधि र कर्मचारीको आजबाट निशुल्क स्वास्थ्य बीमा सुरु

यसरी गर्न सकिन्छ बीमा

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।

स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।

२०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो ।

यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराले यस वर्ष ‘स्वास्थ्य बीमा वर्ष’का रुपमा मनाउने, यसरी गर्न सकिन्छ बीमा


प्रतिकृया दिनुहोस्