काठमाडौं, पुस २१- बीमा बर्ष घोषणा गरेको कागेश्वरी मनोहरा नगरपालिकाले पहिलो चरणमा जनप्रतिनिधि र कर्मचारीको निशुल्क स्वास्थ्य बीमाको सुरुवात गरेको छ । नगरपालिकाले नगर अस्पतालमा कार्यरत कर्मचारीको बीमा गरेर निशुल्क स्वास्थ्य बीमाको उद्घाटन गरेको हो ।
नगरले यस वर्षलाई “स्वास्थ्य बीमा वर्ष”का रुपमा मनाउने निर्णय यसअघि नै गरेको छ । स्वास्थ्य बीमा कार्यक्रमको दायरालाई बढाउन र गुणस्तरीय स्वास्थ्य सेवाकाे पँहुच जनस्तरमा विस्तार गर्न यस वर्षलाई बीमा वर्षका रुपमा मनाउने भएको हो ।
नगरप्रमुख उपेन्द्र कार्कीकाअनुसार ‘बीमा बर्ष’ कार्यक्रमका लागि नगरले चालु आर्थिक बर्षका लागि २ करोड बजेटसमेत छुट्याएको छ । त्यसैअनुरुप नगरपालिकाले पहिलो चरणमा ५० जना जनप्रतिनिधि र ९ सयभन्दा बढी कर्मचारीको स्वास्थ्य बीमा गर्ने भएको हो । जनप्रतिनिधि र कर्मचारीको बीमाको लागि मात्र ३२ लाख खर्च हुने अनुमान गरिएको छ ।
उनीहरुको बीमा यहि पुस २५ गतेभित्र गरिसक्ने र फागुन २५ गतेदेखि नै लागु हुनेगरी बीमा गरिने नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । जसका लागि प्रत्येक वडामा बीमा सहयोगी परिचालन गरिनेछ ।
यस्तै दोश्रो चरणमा नगरपालिकामा स्थायी बसोबास गर्ने दलित समुदाय, विपन्न परिवार, अल्पसङ्ख्यक, एकल महिला र फरक क्षमता भएकाहरुको भने तेश्रो चरणमा जेष्ठ नागरिक र महिलाको निशुल्क बीमा गरिनेछ ।
यसैगरी चौथो चरणमा संस्थागत विद्यालयमा सहुलियतमा स्वास्थ्य बीमा गरिनेछ । १ लाख ३८ हजार जनसंख्या भएको नगरका सबै नागरिकलाई यस बर्षभित्र बीमाको पहुँच र दायरामा ल्याउने नगरपालिकाको योजना रहेको छ ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख कार्कीले नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी यो बर्षलाई स्वास्थ्य बीमा वर्षका रुपमा मनाउन लागिएको बताए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन बीमा दर्ता सहयाेगीलाई निर्देशन दिए ।
यस्तै नगरप्रमुख कार्कीले नगर अस्पतालमा बिशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आएकाले स्वास्थ्य बीमा कार्यक्रममा जोडिन नगरबासीलाई अनुरोधसमेत गरे ।
निशुल्क स्वास्थ्य बीमाको उद्घाटन कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रले कर्मचारीलाई नगरपालिकाबाट उपलब्ध हुने सेवा र सुबिधा कुनैपनि हालतमा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वास्थ्य बीमा सम्बन्धि जनस्तरमा सचेतना अभियान चलाउनु पर्ने बताए ।
नगर अस्पतालका कार्यकारी निर्देशक राम प्रसाद पौडेलकाअनुसार हालसम्म नगरपालिकाका २६ प्रतिशत नागरिक मात्र बीमाको दायरामा आएका छन् भने झन्डै ३६ प्रतिशत मात्रै स्वास्थ्य सेवाको पहुँचमा पुगेका छन् । निर्देशक पौडेलले नगर अस्पतालमा ठुला भनिएका अस्पतालमा दिने जस्ता सबै किसिमका सेवाहरु उपलब्ध भएकाले स्वास्थ्य सेवा लिन नगरबासीलाई अनुरोध गरे ।
नगरपालिकामा २०७९ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । नगर अस्पतालमा २०७८/७९ मा ४ सय ३२ जना, २०७९/८० मा ४ हजार ६ सय १२ जना, २०८०/८१ मा १९ हजार ५ सय ६३ र २०८१/८२ को ५ महिनामा १८ हजार ३ सय ६४ जनाले सेवा लिएका छन् ।
यो पनि पढ्नुहोस्- कागेश्वरी मनोहराले यस वर्ष ‘स्वास्थ्य बीमा वर्ष’का रुपमा मनाउने, यसरी गर्न सकिन्छ बीमा
यसरी गर्न सकिन्छ बीमा
स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।
स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।
२०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो ।