Hamro Sanchar

उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम : कागेश्वरी मनोहरा २ का २५६ महिला लाभान्वित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ बैशाख, १३ गते


Advertisement

काठमाडौं, बैशाख १३- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित उपमेयरसँग प्रजनन स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत वडा नम्बर २ को आलापोट स्वास्थ्य चौकीमा २ सय ५६ जना महिलाहरुको स्वास्थ्य परिक्षण गरिएको छ ।

नगरपालिकाको स्वास्थ्य शाखा र आलापोट स्वास्थ्य चौकीको आयोजनामा संचालन भएको स्वास्थ्य सेवा कार्यक्रममा २ सय ५६ जना महिलाले बिभिन्न प्रकारका सेवाहरु नि:शुल्क लिएका हुन् ।

स्वास्थ्य सेवा कार्यक्रममा पाठेघरको क्यान्सर र स्तन क्यान्सर सम्बन्धि जाँच, फिस्टुलाको परिक्षण, पाठेघर झरेको(आङ खस्ने) महिलाहरुको स्वास्थ्य परिक्षण, नि:शुल्क भिडियो एक्सरे सेवा, रक्तचाप परिक्षण सेवा र मधुमेह जाँच(सुगर जाँच) सेवा उपलब्ध गराइएको थियो । जसअनुसार २ जनाको पाठेघरको अप्रेसन गर्नुपर्ने देखिएको र एक जनाको क्यान्सर परिक्षणको स्कृनिङ गरिएको स्वास्थ्य शाखामा कार्यरत लक्ष्मी कोइरालाले जानकारी दिइन् ।

स्वास्थ्य सेवा कार्यक्रममा महिलाहरुको स्वास्थ्य अवस्थाअनुसार नि:शुल्क औषधी वितरण गरिएको थियो ।

बिहान १० बजेबाट सुरु गरिएको स्वास्थ्य सेवा कार्यक्रमको उद्घाटन उपमेयर शान्ता थापाले गरेकी थिइन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपमेयर थापाले नगरपालिकाभित्रका महिलाहरुको स्वास्थ्य अवस्थालाई ध्यानमा राखी नगरपालिकाले यस्तो कार्यक्रम अघि सारेको बताइन् ।


प्रतिकृया दिनुहोस्