
काठमाडौं, माघ ५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाका मेयर उपेन्द्र कार्कीले बिरामीको उपचारमा लापरबाही गर्ने चिकित्सक तथा स्वास्थ्य संस्थालाई कारबाही गर्ने चेतावनी दिएका छन् । बिहिबार नगरपालिकाद्धारा संचालित वडा नम्बर ६ बाबाचोकस्थित मुलपानी नगर अस्पतालमा आयोजित नगर अस्पताल र स्वास्थ्य संस्थाहरुको सुधार तथा प्रयास सम्बन्धि अन्तर्क्रिया कार्यक्रममा बोल्दै मेयर कार्कीले यस्तो चेतावनी दिएका हुन् ।
नगर अस्पतालको सेवा प्रवाह सुधार गर्न अग्रसरता एवम् तदारुकता देखाउँदै आएका मेयर कार्कीले चिकित्सक तथा स्वास्थ्य संस्थाहरूले उपचारमा हेलचक्र्याइँ गरिरहेको, बिरामीहरु प्रति राम्रो व्यवहार नगरेको गुनासो आएको भन्दै त्यस्ता व्यक्तिहरु कारबाही भोग्न तयार हुन पनि चेतावनी दिए ।
‘चिकित्सकले लापरबाही गरे बिरामी कहाँ जान्छ ?’, उनले भने ‘ अस्पताल मानवीय सेवा गर्ने ठाउँ हो । डाक्टर भगवानको रूप हो भने व्यवहारमा पनि उतारेर देखाउनुपर्छ ।’ आधा बिमार बोलिले नै ठिक पार्न सक्नुपर्छ । ‘थुप्रै गुनासाहरु आउन थालेका छन् । कसैले ‘नेक्लिजेन्स’ गरेको मलाई सह्य हुँदैन । पदलाई दुरुपयोग गर्दै हुनुहुन्छ भने त्यस्ता डाक्टर र कर्मचारी कारबाहीका लागि तयार हुनुस् । अस्पताल ब्यबस्थापक र सिनियर डाक्टरले कसले-के गरेको छ रिपोर्ट तयार गर्नुस्, त्यस्ता व्यक्तिलाई २४ घण्टाभित्र ‘किकआउट’ गर्छु । त्यसका लागि हामी नगरपालिका परिवार एकमत छौं ।’
जनताले तिरेको पैसाले सेवा सुविधा लिने डाक्टर र कर्मचारीहरुले काम पनि बिरामीमैत्री र जनमैत्री गर्नुपर्ने उनको भनाइ छ ।
मेयर कार्कीले आकस्मिक लगायत अन्य कक्षको अनुगमनको क्रममा ड्युटीमा रहेका चिकित्सक र कर्मचारीहरूलाई बिरामीको उपचारमा कुनै प्रकारको लापरबाही सह्य नहुने बताउदै सेवा प्रवाहमा तदारुकता देखाउन निर्देशन दिए ।
छिट्टै अपरेशन थियटर संचालन गर्ने तयारी रहेको जानकारी दिँदै मेयर कार्कीले केहि समयदेखि नगर अस्पतालमा थन्किएका आइसीयु संचालनका ल्याइएका उपकरणहरुको पनि सदुपयोग गर्ने बताए ।
कार्यक्रममा उपमेयर शान्ता थापाले नगर अस्पतालमा भएका सेवा सन्तोषजनक नभएको भन्दै गुनासो गरिन् । सडक दुर्घटनामा परेको बिरामीलाई आफैले ल्याएर अस्पतालमा छोडेको प्रशंग कोट्याउँदै उपप्रमुख थापाले उक्त बिरामीले उपचार नपाएको भन्दै अस्पतालको सेवा प्रति असन्तुष्टि व्यक्त गरिन् । साथै उनले अबका दिनमा अस्पतालको साख जोगाउन अस्पतालमा कार्यरत डाक्टर, कर्मचारीलाई औषधिको मलहम सँगै बोलिको मलहम लगाउदैं बिरामीलाई चित्त दुखाएर हैन चित्त बुझाएर सेवा दिन अनुरोध गरिन् ।
स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहकार बद्रि बस्नेतले अस्पतालको सेवालाई प्रभावकारी बनाउन मन्त्रालयले आवश्यक सहयोग गर्ने बचन दिएका छन् ।
कार्यक्रममा वडा नम्बर १ का वडाअध्यक्ष मकुन्द प्रसाद गजुरेल, ३ का अध्यक्ष राममणि पुडासैनी, ४ का अध्यक्ष विजय श्रेष्ठ, ५ का अध्यक्ष शंकर पाण्डे, ६ का अध्यक्ष प्रकाश फुयाल, ७ का अध्यक्ष भीमसेन थापा, ९ का अध्यक्ष अनिल थापा, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्रलगायतले आएका गुनासाहरुलाई अनुसरण गर्दै स्वास्थ्य जस्तो संबेदनशील क्षेत्रलाई हेलचेक्र्याइँ नगरी भोलिका दिनमा कुनै किसिमका गुनासा र आक्रोश नदेखिने नगरबासी र जनताको चाहनाअनुरुप सेवा प्रदान गर्न अनुरोध गरेका थिए ।
कार्यक्रम पश्चात् स्वास्थ्य मन्त्रीका स्वास्थ्य सल्लाहकार बद्रि बस्नेत, मेयर कार्की, उपमेयर शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत मिश्र, सबै वडाका अध्यक्षहरु, स्वास्थ्य शाखाका प्रतिनिधिसहितको टोलीले अस्पतालको अनुगमन गरेको थियो ।
नगरपालिकामा हाल एक नगर अस्पतालसहित ५ वटा हेल्थपोस्ट, ३ शहरी स्वास्थ्य केन्द्र, १ आधारभूत अस्पताल, १ आयुर्वेद औषधालय रहेका छन् ।
नगर अस्पतालमा ८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष संचालनमा भैरहेको छ । भने अस्पतालमा रेड जोन २, एल्लो जोन ३ र ग्रीन जोन ३ गरी ८ वेडको क्षमताको आकस्मिक कक्षको सेवा विस्तार गरिएको छ । आकस्मिक कक्षमा डाक्टर, प्यारामेडिक र नर्सले चौबिसै घण्टा सेवा दिईरहेका छन् ।
आकस्मिक कक्षमा २ वटा मोनिटर, वाल अक्सिजन सप्लाई सहितको इमर्जेन्सी सेवा प्रदान हुँदै आएको छ ।
सार्वजनिक विदाका दिन २४ घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएको अस्पतालमा २ वटा ओपिडी सेवा, ल्याव, एक्सरे तथा भिडियो एक्सरे, अर्थोपेडिक, छाला तथा चर्मरोग, मनोरोग बिशेषज्ञ सेवा, इएन्टी सेवा, नेपाल नेत्रज्योती संघ त्रिपुरेश्वरसँग समन्वय गरी आँखा उपचार केन्द्र संचालन हुँदै आएको छ । यसका साथै चौबीसै घण्टा प्रसुती सेवा, एम्बुलेन्स, शववाहन सेवा, परिवार नियोजन सेवा प्रदान गर्दै आइरहेको छ ।
यो पनि पढ्नुहोस्- मुलपानी नगर अस्पतालमा ८ वेड क्षमताको आकस्मिक कक्ष संचालन