Skip

Hamro Sanchar

मुलपानी नगर अस्पतालमा ८ वेड क्षमताको आकस्मिक कक्ष संचालन

प्रदिप नेपाली प्रकाशित : २०८० असार, १५ गते


काठमाडौं, असार १५- काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित वडा नम्बर ६ बाबाचोकस्थित मुलपानी नगर अस्पतालले आकस्मिक कक्षको सेवा विस्तार गरेको छ । अस्पतालले डेड महिनादेखि ८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष संचालनमा गरेको हो ।

अस्पतालमा रेड जोन २, एल्लो जोन ३ र ग्रीन जोन ३ गरी ८ वेडको क्षमताको आकस्मिक कक्षको सेवा विस्तार गरिएको मेडिकल अधिकृत डाक्टर चैतन्य जोशीले जानकारी दिए । उनकाअनुसार डाक्टर, प्यारामेडिक र नर्सले चौबिसै घण्टा सेवा दिईरहेका छन् ।

आकस्मिक कक्षमा २ वटा मोनिटर, वाल अक्सिजन सप्लाई सहितको इमर्जेन्सी सेवा प्रदान हुँदै आएको छ ।

नगर अस्पतालको आकस्मिक कक्षमा दैनिक २० जनाभन्दा बढी र ओपीडीमा दैनिक एक सयको हाराहारीमा सेवा लिइरहेका छन् ।

सार्वजनिक विदाका दिन २४ घण्टा इमर्जेन्सी सेवा प्रदान गर्दै आएको अस्पतालमा २ वटा ओपिडी सेवा, ल्याव, एक्सरे तथा भिडियो एक्सरे, अर्थोपेडिक, छाला तथा चर्मरोग, मनोरोग बिशेषज्ञ सेवा, इएन्टी सेवा, नेपाल नेत्रज्योती संघ त्रिपुरेश्वरसँग समन्वय गरी आँखा उपचार केन्द्र संचालन हुँदै आएको अस्पताल ब्यबस्थापक सन्तोष तिमिल्सिनाले हाम्रोसंचारलाई जानकारी दिए । यसका साथै चौबीसै घण्टा प्रसुती सेवा, एम्बुलेन्स, शववाहन सेवा, परिवार नियोजन सेवा प्रदान गर्दै आइरहेको छ ।

अस्पतालमा हाइ केयर युनिट, अपरेसन थियटर, प्री अपरेटिभ वार्ड र पोष्ट अपरेटिभ वार्ड संचालन गर्ने तयारी छ ।

बुधबार नगरप्रमुख उपेन्द्र कार्कीले अस्पतालको नव निर्मित आकस्मिक कक्ष, नव निर्मित ल्याव, बन्दै गरेको क्यान्टिन लगायत कम्पाउन्ड निर्माणको स्थलगत निरिक्षण गरेका थिए ।

अस्पतालबाट दिइने सेवा सुबिधा र तत्काल सुधार गर्नुपर्ने विषयमा आवश्यक निर्देशन दिएका थिए । नगरप्रमुख कार्कीले स्वास्थ्यमा कुनै पनि कन्जुस्याई हुन नदिने वचनका दिँदै कमि कमजोरीलाइ तत्काल सुधारका लागि सुझाबसमेत दिएका थिए ।


प्रतिकृया दिनुहोस्