
काठमाडौँ । गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले एक महिना म्याद थप गर्न सरकारसँग आग्रह गरेको छ ।
बुधबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँग छलफल गर्दै आयोगका पदाधिकारीहरूले जाँचबुझ आयोगको म्याद थप गर्न आग्रह गरेका हुन् ।
पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा ५ असोजमा गठित जाँचबुझ आयोगको म्याद सकिन लाग्दा बयान लिने क्रम नै जारी रहेको भन्दै म्याद थप गर्न आग्रह गरिएको हो ।
जाँचबुझ आयोगका अध्यक्ष कार्कीले आयोगलाई काम गर्न केहि समय अपुग भएकाले एक महिना थप गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेको जानकारी दिए ।
जवाफमा प्रधानमन्त्री कार्कीले समय थप गर्ने जानकारी गराएको उनले बताए । त्यस्तै कार्कीले अर्को साता पूर्वप्रधानमन्त्री(केपी शर्मा ओली) र पूर्वगृहमन्त्री(रमेश लेखक) लगायत राजनीतिक दलका नेताहरूलाई बयानमा बोलाउने तयारी भएको उल्लेख गरे ।
जाँचबुझ आयोगले जेनजी घटनाका सम्बन्धमा सुरक्षा र प्रशासनका उच्च अधिकारीहरूको बयान लिइसकेको छ ।
असोज ५ गते तीन महिनाको म्यादसहित गठन भएको आयोगले असोज ९ गतेदेखि कार्यप्रारम्भ गरेको थियो । आयोगको म्याद यही पुस ९ गते सकिँदै छ ।


















