काठमाडौं । गत भदौ १० गते रसुवा तथा आसपासका जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित आमाछोदिङ्मो गाउँपालिकाका दुई परिवारका ६ जना विद्यार्थीलाई कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-१ अवस्थित श्री सिद्धि गणेश माध्यमिक विद्यालयले अध्ययनको अवसर प्रदान गरेको छ।
बाढीका कारण प्रभावित बालबालिकाको शिक्षा अवरुद्ध नहोस् भन्ने उद्देश्यले विद्यालयले उनीहरूलाई आफ्नो विद्यालयमा अध्ययन गर्ने वातावरण तयार गरेको हो। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजकुमार थापाको अगुवाइमा विद्यार्थीहरूका लागि आवश्यक विद्यालय पोसाक, जुत्ता–मोजा, स्कुल ब्याग, पाठ्यपुस्तक तथा स्टेसनरी सामग्रीको समेत व्यवस्थापन गरिएको छ। साथै, विद्यार्थीहरूको बसोबासका लागि तीन महिनाको घरभाडा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।
विद्यार्थीका लागि हाउस ड्रेस विद्यालयका सल्लाहकार समितिका सदस्य विश्वराज श्रेष्ठले उपलब्ध गराएका छन्। सल्लाहकार समितिका सदस्य कृष्णप्रसाद अर्यालले स्कुल ब्याग, हाउस ड्रेसका लागि सेतो जुत्ता–मोजा तथा विद्यालय पोसाकका लागि कालो जुत्ता–मोजा सहयोग गरेका छन्।
त्यसैगरी, वेलकम स्टेसनरी, गट्ठाघरका सञ्चालक तारा श्रेष्ठले सम्बन्धित कक्षाका विद्यार्थीहरूलाई एक वर्षका लागि आवश्यक स्टेसनरी सामग्री तथा पाठ्यपुस्तक उपलब्ध गराएका छन्। चिनारी टेलर्स, चुच्चेपाटीका सञ्चालक विनोद थापाले ६ जना विद्यार्थीका लागि दुई जोर कोट–पाइन्टसहित विद्यालय पोसाक उपलब्ध गराएका छन्। विद्यालय व्यवस्थापन समितिका सदस्य अनिता वास्तोला ‘कुइकेल’ले तीन महिनाको घरभाडा निःशुल्क उपलब्ध गराउने व्यवस्था गरेकी छन्।
यस कार्यलाई सहजीकरण गर्दै विद्यार्थीहरूको शिक्षा निरन्तरताका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सिद्धि गणेश माध्यमिक विद्यालय परिवार तथा विद्यालय व्यवस्थापन समितिप्रति कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीले विशेष धन्यवाद व्यक्त गरेका छन्।
नगर प्रमुख कार्कीले विपद्को पीडामा रहेका बालबालिकाको शिक्षालाई निरन्तरता दिन विद्यालयले गरेको पहल प्रशंसनीय रहेको बताउँदै यस्तो मानवीय सहयोगले बालबालिकाको भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्।































