२० असोज, पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–१० र ११ मा पर्ने पर्यटकीय गाउँ घान्द्रुक पुग्ने बाटो सहज भएसँगै पर्यटकको सङ्ख्या बढ्न थालेको छ। बाढीपहिरोका कारण अवरुद्ध भएको वीरेठाँटी–घान्द्रुक सडक सञ्चालनमा आएसँगै पर्यटक घान्द्रुक पुग्न थालेका हुन्।
बाटो सहज भएसँगै गाउँमा पर्यटकको चहलपहल सुरु हुन थालेको घान्द्रुकस्थित निर्मल भिल्लाकी प्रबन्ध निर्देशक स्नेहा गुरुङले बताइन्। बाढीपहिरोले बाटो अवरुद्ध हुँदा शून्य अवस्थामा पुगेको घान्द्रुकको पर्यटन व्यवसाय अब चलायमान हुने आशा जागेको उनले बताइन्। ‘चाडपर्वसँगै पर्यटकको सिजन पनि सुरु भयो। बाटो पनि सहज भएको छ,’ उनले भनिन्, ‘असार, साउन र भदौमा पर्यटक शून्य नै थियो। अहिले विस्तारै आउन सुरु गरेका छन्। अब केही हुन्छ कि भन्ने आशा पलाएको छ।’
होटल रक एन्ड मुडका सञ्चालक तथा रोधी क्लब घान्द्रुकका अध्यक्ष लक्षिण गुरुङले घान्द्रुक पुग्ने बाटो सहज बनेको सन्देश फैलाउन जरुरी रहेको बताए। ‘पर्यटक आउन सुरु गरेका छन् तर अझै पनि धेरैलाई बाटो खराब छ भन्ने लागेको हुन सक्छ,’ उनले भने, ‘धेरैले घान्द्रुकको बाटो बनेको छैन भनेर योजना क्यान्सिल पनि गर्नुभएको होला। अब हामीले बाटो सहज छ, ढुक्कसँग घुम्न आउनुहोला भन्ने सन्देश प्रवाह गर्नुपर्नेछ।’
निरन्तरको वर्षाले विभिन्न स्थानमा खसेको पहिरो पन्छाएर बाटो सहज बनाएपछि पर्यटक घान्द्रुक पुग्न थाले पनि सोचेजस्तो सङ्ख्या नभएको उनको भनाइ छ। ‘साउन–भदौमा जस्तो पाहुना आउँदै नआएको त होइन। तर, अझै पर्याप्त छैन’, उनले भने, ‘मेरो होटलमा ४५ जनासम्म राख्न सक्छु। यो समयमा अघिल्ला वर्षमा भरिभराउ हुन्थ्यो तर यसपटक दैनिक पाँच–सात जना मात्र आउँछन्।’
बाटोसँगै मौसम खुलेपछि घान्द्रुकको पर्यटन व्यवसाय विस्तारै चलायमान हुँदै गएको घान्द्रुक पर्यटन व्यवस्थापन समितिका अध्यक्ष विक्रम गुरुङले बताए। उनका अनुसार अहिले दैनिक दुईदेखि तीन सय पर्यटक घान्द्रुक पुग्ने गरेका छन्। ‘यो बेला पर्यटक आउने समय नै हो। यही समयमा बाटो बिग्रँदा निकै चिन्ता लागेको थियो। सबैको पहलमा बाटो बनाएपछि पाहुना आउन थालेका छन्’, उनले भने, ‘पहिला–पहिला यही समयमा बस्ने ठाउँ नपुगेर पाहुना फर्काउनुपर्ने अवस्था थियो। यो वर्ष विस्तारै बढ्ने क्रम जारी छ। अहिले दैनिक दुई–तीन सय जना आउँछन्।’
अध्यक्ष गुरुङले पनि घान्द्रुकको बाटो सहज भएको सन्देश सबैसामु पुर्याउनुपर्ने बताए। ‘यो समय सबैभन्दा बढी नेपाली पाहुना आउने समय हो। निरन्तर वर्षा हुँदा बाटो अवरुद्ध भएको थाहा भए पनि खुलेको थाहा नहुन सक्छ’, उनले भने, ‘त्यसैले हामी घान्द्रुकवासीको एउटै आग्रह छ– मौसमसँगै बाटो पनि खुलेको छ। निर्धक्क भएर घुम्न आउनुहोला, हामी स्वागत गर्न तयार छौँ।’
अध्यक्ष गुरुङका अनुसार पर्यटकीय गाउँ घान्द्रुकमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ। पाहुना धेरै भएको अवस्थामा गाउँकै घरमा पनि व्यवस्थापन गर्न सकिने उनले बताए। ‘घान्द्रुकमा अहिले होटल ९५ वटा र ४५ वटा होमस्टे छन्। यी होटल तथा होमस्टेमा एक दिनमा दुई हजार पाँच सय पाहुना राख्न सकिन्छ’, उनले भने, ‘पाहुना धेरै भएको खण्डमा व्यक्तिगत घरमा पनि व्यवस्थापन गर्न सकिन्छ। गाउँ आएको पाहुना फर्काउन नपरोस् भन्ने हाम्रो मान्यता छ।































