काठमाडौं । गृहमन्त्री सुधन गुरुङले राज्यका गोप्य तथा संवेदनशील सूचना चुहाउने जोसुकैलाई पनि कानुनी कारबाही गरिने चेतावनी दिएका छन्।
आज सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै गुरुङले पदीय जिम्मेवारीको दुरुपयोग गरी गोप्य सूचना अनधिकृत व्यक्ति वा निकायलाई दिने कार्य सह्य नहुने बताएका हुन्।
उनले राज्यले सुम्पिएको गोपनीयतामाथि जानाजान विश्वासघात गर्ने जोसुकै भए पनि उन्मुक्ति नपाउने स्पष्ट पारेका छन्।
संवेदनशील सूचना सार्वजनिक हुँदा अपराध रोकथाम, अनुसन्धान तथा भविष्यमा गम्भीर घटनाको सत्यतथ्य स्थापित गर्न असर पर्ने उनको भनाइ छ।
गुरुङले गृह मन्त्रालय र मातहतका निकायमा कार्यरत पदाधिकारी तथा कर्मचारीले आफ्नो पदीय हैसियतको दुरुपयोग गरी सूचना चुहाउने प्रवृत्तिलाई आफूले लामो समयदेखि नियालिरहेको उल्लेख गरेका छन्।
यसैबीच, संवेदनशील सूचना चुहाएको आरोपमा सरकारले सोमबार सशस्त्र प्रहरीका एआईजी वंशीराज दाहाललाई पदबाट निलम्बन गरेको थियो।
गृह मन्त्रालयले दाहालमाथि पदीय आचरणविपरीत कार्य गरेको र संवेदनशील सूचना चुहाएको आरोप लगाएको छ।































