२० असोज, चितवन । राष्ट्रिय निकुञ्जमा दसैँअघि नै जिप सफारी सुरु हुने भएको छ ।सडकको अवस्था स्तरोन्नति सम्पन्न भएमा यही शुक्रबारदेखि निकुञ्जमा जिप सफारी सञ्चालन गर्ने तयारी भएको हो ।
वर्षा सुरु भएसँगै गत असार १७ गतेदेखि निकुञ्जले जिप सफारी बन्द गरेको थियो । वर्षाको समयमा आएको बाढीका कारण बिग्रिएका बाटो मर्मत गर्ने, ढलेका रुख पन्छाउने, झाडी फाँड्नेलगायत काम सकिएसँगै जिप सफारी सुरु गर्न लागिएको निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले जानकारी दिए ।
हरेक वर्ष वर्षाको समयमा निकुञ्जभित्रको जिप सफारी बन्द गरिन्छ । सूचना अधिकारी थापामगरले असोजको दोस्रो साता आएको बाढीले जङ्गलभित्रका मार्ग भत्किएकाले सफारी खुला गर्न समय लागेको बताए। बाढीका कारण रिउखोला गहिरो भएकाले ग्राभेलिङ गर्ने काम भइरहेको छ ।
रिउखोलामा आएको बाढीले निकुञ्जको टाइगरटप्स क्षेत्रमा जाने मार्गमा समस्या भएकाले स्तरोन्नति गर्न समय लागेको उनले बताए । निकुञ्जभित्र जिप सफारी बन्द भए पनि मध्यवर्ती क्षेत्र तथा सामुदायिक वनहरूमा भने जिप तथा हात्ती सफारी सबै समयमा यथावत् अवस्थामा हुने गर्दछ ।
निकुञ्जमा सौराहा क्षेत्रबाट ३२, कसराबाट २२, मेघौलीबाट ११, अमलटारीबाट आठ र माडीबाट एउटा जिपहरू निकुञ्जभित्र सञ्चालन हुन्छन्






























