Skip

Hamro Sanchar

वडाअध्यक्ष भिमसेन थापाको निधन, कागेश्वरी मनोहरामा भोलि सार्वजनिक बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, १८ गते


काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका–७ का वडाअध्यक्ष भिमसेन थापाको निधन भएको छ। उनको आज बिहान ललितपुरको हरिसिद्धिस्थित क्यान्सर अस्पतालमा उपचारका क्रममा निधन भएको हो।

नेपाली कांग्रेस क्षेत्र नम्बर–२ का सचिवसमेत रहेका थापाको ४६ वर्षको उमेरमा निधन भएको हो। पन्ध्र महिनादेखि उनी प्यान्क्रियाज क्यान्सरबाट पीडित थिए।

मृतक थापाको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ। अन्तिम श्रद्धाञ्जली कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली कांग्रेसका वरिष्ठ नेता प्रकाशमान सिंह, महामन्त्री गगन थापा र कागेश्वरी मनोहरा नगरपालिकाका नगरप्रमुख उपेन्द्र कार्कीले पार्टीको झण्डा ओढाइ श्रद्धाञ्जली अर्पण गरेका थिए।

मृतक थापालाई श्रद्धाञ्जली दिन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, नगर उपप्रमुख शान्ता थापा, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदी, नगरपालिकाका कर्मचारीहरु, हजारौं शुभचिन्तक तथा आफन्तजनहरुको उपस्थिति रहेको थियो।

थापाका श्रीमती, एक छोरा र एक छोरी छन्।

उनको निधनप्रति दुःख व्यक्त गर्दै कागेश्वरी मनोहरा नगरपालिकाले भोलि नगरपालिका कार्यालय, सबै वडा कार्यालय, अत्यावश्यक सेवा बाहेकका स्वास्थ्य संस्था, आयुर्वेद औषधालय तथा सामुदायिक तथा संस्थागत विद्यालयहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सुवेदीले जानकारी दिए।

नगरपालिकाले मृतक थापाप्रति श्रद्धाञ्जली प्रकट गर्दै उनको आत्माको चिरशान्तिको कामना तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ।


प्रतिकृया दिनुहोस्