Skip

Hamro Sanchar

 देउवा अन्तिम पटक डडेलधुराबाट चुनाव लड्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८२ मंसिर, २३ गते


काठमाडौँ । फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेलधुराबाट उम्मेदवार बन्ने भएका छन् ।

२०४८ सालदेखि अहिलेसम्म भएका प्रतिनिधिसभा निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचन लड्दै जित्दै आएका देउवाले अन्तिम पटकका लागि उम्मेदवार बन्ने तयारी गरेका हुन् ।

कांग्रेसले मंसिर १५ गते मातहतका पार्टी कार्यालयलाई परिपत्र गर्दै मंसिर मसान्तभित्र उम्मेदवार बन्नेको नाम सिफारिस गर्न निर्देशन दिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले हस्ताक्षर गरेर पठाएको परिपत्रमा दुई पुरुष र एक महिना एउटा निर्वाचन क्षेत्रबाट उम्मेदवारका लागि सिफारिस गर्न भनिएको छ ।

नेपाली कांग्रेस डडेलधुराका सभापति भीमबहादुर साउदले कांग्रेस नेता कार्यकर्ता र नागरिकको आकाङ्क्षा देउवा यो पटक निर्वाचन लडोस् भन्ने रहेको र त्यो जानकारी आफूहरूले उनलाई भेटेर गराएको बताएका छन्। र यो विषयमा देउवा सकारात्मक रहेको उनको दाबी छ ।

उम्मेदवार सिफारिस गर्न मंसिर २४ गते पार्टीको जिल्ला कार्यसमिति बैठक बस्ने र सभापति देउवाको नाम सिफारिस गर्ने तयारीमा आफूहरू रहेको साउदले बताए ।

यता देउवाले जिल्लावासी र पार्टीका नेता कार्यकर्ताको माग अन्तिम पटक निर्वाचन लडोस् भन्ने रहेकाले अन्तिम पटक लड्ने तयारीमा रहेको आफूलाई भेट्न जाने नेताहरूलाई बताउने गरेका छन् ।

पार्टीको भ्रातृसंस्था नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य इन्जिनियर भुवन भट्ट मंगलबार बिहान देउवालाई भेट्न गएका थिए । भेटमा आफूहरूले उम्मेदवार बन्नेबारे जिज्ञासा राख्दा अन्तिम पटकका लागि लड्ने तयारी गरेको बताएको भट्टले जानकारी दिए ।

 


प्रतिकृया दिनुहोस्