Skip

Hamro Sanchar

कुनै पनि बहानामा सार्वजनिक सम्पत्ति आक्रमणको निसाना नबनाऔँ’ : नगरप्रमुख कार्की

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ साउन, २३ गते


Advertisement

काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्कीले सार्वजनिक सम्पत्तिलाई कुनै पनि बहानामा आक्रमण वा क्षतिको निसाना बनाउन नहुने बताएका छन्।

जेन्जी आन्दोलनका क्रममा आगजनी तथा तोडफोडबाट क्षतिग्रस्त भएको काँडाघारी प्रहरी प्रभागको पुनर्निर्मित भवन उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख कार्कीले नागरिकको श्रम, पसिना र सहयोगबाट निर्माण भएका सार्वजनिक तथा सुरक्षा संरचनाको संरक्षण गर्न आग्रह गरे।

स्थानीय नागरिक, नगरपालिका तथा विभिन्न संघ–संस्थाको आर्थिक, भौतिक सहयोग र श्रमदानबाट प्रहरी प्रभागको भवन पुनर्निर्माण गरिएको हो। पुनर्निर्माणका क्रममा नगदतर्फ १८ लाख ३३ हजार ६९८ रुपैयाँ तथा जिन्सी र निर्माण सामग्रीतर्फ ५७ लाख ७१ हजार ९७७ रुपैयाँ खर्च भएको समितिले जनाएको छ।

नगरप्रमुख कार्कीले दिनरात नागरिकको सुरक्षा र सेवामा खटिने प्रहरीका लागि सुविधासम्पन्न भवन आवश्यक रहेको बताए। उनले स्थानीयको श्रमदान र नगरपालिकाको पहलमा भवन पुनर्निर्माण सम्भव भएको उल्लेख गरे।

यसैबीच, कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं. १ देखि ९ सम्म एआई प्रविधियुक्त सीसीटीभी जडानका लागि १२ करोड रुपैयाँ विनियोजन गरिएको कार्कीले जानकारी दिए। सीसीटीभी सञ्चालनमा आएपछि नगर क्षेत्रमा हुने चोरी, डकैतीलगायत आपराधिक गतिविधिको २४ घण्टा निगरानी गर्न सकिने उनले बताए।

आवश्यकताअनुसार प्रहरी कन्ट्रोल रूमबाटै सीसीटीभीको प्रत्यक्ष अनुगमन गर्ने व्यवस्था मिलाउन सकिने भन्दै उनले आयोजनाका लागि नेपाल प्रहरीको प्राविधिक सहयोग र समन्वय आवश्यक रहेको बताए।


प्रतिकृया दिनुहोस्