काठमाडौं । कमिल मिशाराको विस्फोटक शतक र बलरहरूको उत्कृष्ट प्रदर्शनसँगै चितवन राइनोज नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ।
आज त्रिवि क्रिकेट मैदानमा भएको एलिमिनेटर खेलमा चितवनले काठमाडौं गोर्खाजलाई ६१ रनले पराजित गर्दै प्रतियोगिताको उपाधि यात्रालाई जीवित राखेको हो।
पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनाएको थियो। चितवनका कमिल मिशाराले ५९ बलमा ५ चौका र १० छक्कासहित अविजित १२० रन बनाए। रवि बोपाराले ५३ रनको योगदान दिए। यी दुईबीच तेस्रो विकेटका लागि १५४ रनको शानदार साझेदारी भएको थियो।
२०५ रनको लक्ष्य पछ्याएको काठमाडौंले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो। उसका विलियम बोसिस्टोले ३७ र भीम सार्कीले अविजित ३० रन बनाए।
चितवनका रिजन ढकालले ४ विकेट तथा उसामा मिरले ३ विकेट लिएपछि काठमाडौंको ब्याटिङ धराशायी बन्यो।
अब चितवनले फाइनल प्रवेशका लागि बिहीबार सुदूरपश्चिम रोयल्ससँग दोस्रो क्वालिफायर खेल्नेछ।
उक्त खेलको विजेताले शनिबार हुने फाइनलमा साविक विजेता लुम्बिनी लायन्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।
























