Skip

Hamro Sanchar

आइतबार विद्यालय नजान प्रधानाध्यापक, शिक्षक, कर्मचारी र विद्यार्थीलाई शिक्षक महासंघको आह्वान

तारकेश्वर नगरपालिकाले टेरेन सरकार र महासंघलाई

सुदिप बर्देवा प्रकाशित : २०८३ साउन, २९ गते


Advertisement

काठमाडौँ, साउन २९- नेपाल शिक्षक महासंघ, काठमाडौँ जिल्ला समितिले सरकारले गरेको शनिबार र आइतबार सार्वजनिक बिदाको निर्णय पूर्ण रूपमा कार्यान्वयन गर्न माग गर्दै आइतबार विद्यालय सञ्चालन नगर्न शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई आह्वान गरेको छ।

महासंघले शुक्रबार जारी गरेको विज्ञप्तिमार्फत तारकेश्वर नगरपालिकाले आइतबार सार्वजनिक बिदाको निर्णय प्रभावकारी रूपमा कार्यान्वयन नगरेको भन्दै आपत्ति जनाएको हो। महासंघका अनुसार तारकेश्वर नगरपालिकाअन्तर्गतका नगरपालिका कार्यालय, वडा कार्यालयलगायत प्रशासनिक कार्यालयहरू आइतबार बन्द रहने भए पनि शैक्षिक संस्थाहरू भने सञ्चालनमा रहने अवस्था देखिएको छ।

महासंघले यसअघि नै तारकेश्वर नगरपालिकाका प्रमुखलाई ध्यानाकर्षणपत्र बुझाउनुका साथै सम्बन्धित निकायहरूमा समेत निर्णय कार्यान्वयनका लागि आग्रह गरेको जनाएको छ। तर, हालसम्म पनि सार्वजनिक बिदासम्बन्धी निर्णय पूर्ण रूपमा कार्यान्वयन नभएको भन्दै महासंघले विभेदपूर्ण व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

सरकारले सार्वजनिक बिदा दिने निर्णय गर्नुको उद्देश्य राज्यका सबै सम्बन्धित निकायमा समान रूपमा लागू हुने व्यवस्था कायम गर्नु रहेको महासंघको भनाइ छ। प्रशासनिक तथा अन्य कार्यालयहरू बन्द गरेर शैक्षिक संस्थाहरू मात्र सञ्चालन गर्दा शिक्षक तथा विद्यार्थीलाई समान नागरिकका रूपमा प्राप्त सार्वजनिक बिदाको अधिकारबाट वञ्चित गरिएको महासंघले जनाएको छ।

महासंघले यस्तो विभेदपूर्ण व्यवहारले शिक्षकको पेशागत सम्मान, श्रम अधिकार तथा विद्यार्थीको विश्राम र सिकाइको अधिकारमा समेत प्रतिकूल प्रभाव पार्ने दाबी गरेको छ। शिक्षक र विद्यार्थीलाई मात्र सार्वजनिक बिदाबाट वञ्चित गरी शैक्षिक संस्था सञ्चालन गर्नु समानताको सिद्धान्त र श्रमको सम्मानविपरीत भएको महासंघको निष्कर्ष छ।

महासंघले आफूहरूले गरेको निरन्तर प्रयासका बाबजुद बिदा कार्यान्वयनको निर्णय नभए २०८३ साउन ३१ गते आइतबारदेखि कुनै पनि आइतबार सार्वजनिक बिदाको पूर्ण कार्यान्वयन गर्दै तारकेश्वर नगरपालिका क्षेत्रका सम्पूर्ण प्रधानाध्यापक, शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावकलाई विद्यालय नजान आह्वान गरेको छ।

महासंघले विद्यालयमा तोकिएको वार्षिक कार्यघण्टा तथा पाठ्यक्रम पूरा हुने गरी बाँकी कार्यदिनमा आवश्यक समय व्यवस्थापन गर्नुपर्ने विषयलाई समेत महत्वपूर्ण रूपमा लिएको जनाएको छ। यसका लागि विद्यालयहरूले आइतबार नियमित पठनपाठन वा अन्य शैक्षिक गतिविधि सञ्चालन नगर्न तथा सरकारको निर्णयविपरीत शिक्षक, विद्यार्थी, कर्मचारी र अभिभावकलाई विद्यालयमा उपस्थित हुन बाध्य नपार्न सम्बन्धित सबै पक्षलाई अनुरोध गरिएको छ।

त्यस्तै, पाँच दिन विद्यालय सञ्चालन हुने अवस्थामा तोकिएको पाठ्यक्रम, सिकाइ उपलब्धि तथा वार्षिक कार्यघण्टा प्रभावकारी रूपमा पूरा गर्न स्थानीय तह, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा अभिभावकबीच आवश्यक समन्वय र सहकार्य गर्न महासंघले आग्रह गरेको छ।

विज्ञप्तिमा महासंघका अध्यक्ष गणेशप्रसाद गुरागाईं, सहअध्यक्ष कृष्णराज कँडेल र सचिव नारायणप्रसाद गौतमले हस्ताक्षर गरेका छन्।

महासंघले सरकारको सार्वजनिक बिदासम्बन्धी निर्णय सबै क्षेत्रमा समान रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै शैक्षिक संस्थामाथि मात्र फरक व्यवस्था लागू नगर्न सम्बन्धित निकायलाई चेतावनीसमेत दिएको छ।


प्रतिकृया दिनुहोस्