Skip

Hamro Sanchar

आईओई प्रवेश परीक्षामा विश्व निकेतनको ऐतिहासिक सफलता : १२ हजार ६ सय १९ प्रतिस्पर्धीलाई पछि पार्दै विपिन पन्त तेस्रो

सुदिप बर्देवा प्रकाशित : २०८३ साउन, २० गते


Advertisement

काठमाडौँ, साउन २०- त्रिभुवन विश्वविद्यालयअन्तर्गत इन्स्टिच्युट अफ इन्जिनियरिङ (आईओई) को शैक्षिक सत्र २०८३/८४ का लागि लिइएको स्नातक तहको प्रवेश परीक्षाको नतिजा सार्वजनिक भएको छ। यस वर्षको नतिजामा काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन माध्यमिक विद्यालयका विद्यार्थी विपिन पन्तले देशभरका १२ हजार ६ सय २१ परीक्षार्थीमध्ये तेस्रो स्थान हासिल गर्दै विद्यालयलाई ऐतिहासिक सफलता दिलाएका छन्। उनले १२ हजार ६ सय १९ प्रतिस्पर्धीलाई पछि पार्दै उत्कृष्ट उपलब्धि हासिल गरेका हुन्।

आईओई प्रवेश परीक्षा नेपालकै सबैभन्दा प्रतिस्पर्धात्मक प्राविधिक प्रवेश परीक्षामध्ये एक मानिन्छ। यस वर्ष परीक्षामा १२ हजार ६ सय २१ विद्यार्थी सहभागी भएकामध्ये ७ हजार १ सय ७९ जना उत्तीर्ण भएका छन्। अवधारणागत ज्ञान, विश्लेषणात्मक क्षमता, समय व्यवस्थापन तथा प्रतिस्पर्धात्मक तयारीको उच्च स्तर आवश्यक पर्ने यस परीक्षामा शीर्ष स्थान हासिल गर्नु उल्लेखनीय उपलब्धि मानिन्छ।

सार्वजनिक नतिजाअनुसार विराटनगरस्थित बाल विद्या मन्दिरका मनन श्रेष्ठ प्रथम र पोखराको मदरल्याण्ड स्कुलका अमृत तिमिल्सिना दोस्रो भएका छन्। तेस्रो स्थानमा विश्व निकेतन माध्यमिक विद्यालयका विपिन पन्त सफल भएका हुन्। महिला समूहमा ललितपुरको पिनाकल एकेडेमीकी समिक्षा तामाङ सर्वोत्कृष्ट बनेकी छन्।

विपिन पन्तको सफलतापछि विश्व निकेतन परिवारमा उत्सवको माहोल छ। विद्यालय प्रशासनले यो उपलब्धिलाई विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र अभिभावकको विश्वासको परिणामका रूपमा व्याख्या गरेको छ।

संस्थाका प्रधानाध्यापक हेरम्बराज कडेलले अध्ययन सामग्री, नियमित अभ्यास, विश्लेषणात्मक कक्षा, अनुभवी शिक्षकको मार्गदर्शन तथा विद्यार्थीको निरन्तर मेहनतले उत्कृष्ट नतिजा सम्भव भएको हाम्रोसंचारलाई बताए।

उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थीहरू पन्तले आफ्नो सफलताको श्रेय विद्यालय, व्यवस्थित अध्ययन वातावरण, नियमित अभ्यास, गुणस्तरीय अध्ययन सामग्री तथा शिक्षकहरूको व्यक्तिगत मार्गदर्शनलाई दिएका छन्।

१२ हजार ६ सय १९ प्रतिस्पर्धीलाई पछि पार्दै आईओई प्रवेश परीक्षामा देशकै तेस्रो स्थान हासिल गरेका विपिन पन्तको सफलता विश्व निकेतनका लागि मात्र होइन, समग्र नेपालको सार्वजनिक शिक्षाका लागि पनि गौरवपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।


प्रतिकृया दिनुहोस्