
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालमा पछिल्ला दिनहरुमा बिरामीको संख्या अत्यधिक बढ्न थालेको छ । सोमबार मात्र १ हजार जना बिरामीले सेवा लिएका छन् । यो संख्या हालसम्मकै सबैभन्दा बढी हो ।
अस्पतालले आकस्मिक कक्षसहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपीडीमा एक हजार बिरामीलाई एकैदिन सेवा प्रदान गरेको हो । अस्पतालले यसअघि अन्य दिनमा ५ सयदेखि ८ सयसम्म उपचार सेवा दिँदै आएको थियो ।
अस्पतालले ४८ जनालाई दन्त सेवा, गर्भवती जाँच २६ जना, आकस्मिक कक्षबाट २५ जना, इमर्जेन्सी तथा फेमिली फिजिसियन १२, नाक, कान, घाँटी ४३, फेमिली फिजिसियन ४५, family physician and MDGP ६६, फेमिली प्लानिङ ३, जेनेरल ओपिडी २८०, जेनेरल सर्जनमा १५ जना, गाइनोलोजी ओपिडी ६१, इन्टरनल मेडिसिन ३१, पोषण ३ जना, आँखा जाँच सेवा ४४ जना, गाउँघर क्लिनिक १ जना, हाडजोर्नी १७५ जना, अन्य सेवा १९ जना, बालरोग ४३, फिजियोथेरापी २२ जना र मनोचिकित्सक सेवामा १६ जना गरि कुल ९ सय ९९ जनालाई सेवा प्रदान गरेको छ ।
यस्तै अस्पतालले एकैदिन ७ लाख ५२ हजार ४ सय ५१ रुपियाँ आम्दानी गरेको छ । जसमा बिमाबाट ५ लाख ७० हजार ८१ रुपियाँ र नगद १ लाख ८२ हजार ३ सय ७० रुपियाँ प्राप्त गरेको हो ।
अस्पतालले दैनिक १९ भन्दा बढी प्रकारका बिशेषज्ञ सेवा प्रदान गर्दै आइरहेको छ । जसअनुसार अस्पतालले विशेषज्ञ चिकित्सकसहित बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म ओपिडि सेवा अन्तर्गत हाडजोर्नी विशेषज्ञ, ईन्टरनल मेडिसिन, बालरोग विशेषज्ञ, रेडियोलोजी सेवा, स्त्री विशेषज्ञ, ई.एन.टी विशेषज्ञ सेवा, मनोरोग विशेषज्ञ, छालारोग विशेषज्ञ, प्याथोलोजी सेवा, फिजियोथेरापी सेवा, आँखा जाँच विशेषज्ञ, दन्तरोग, एम्बुलेन्स, शववाहन सेवा, मुटुरोग सेवा, युरोलोजिष्ट सेवा, सर्जरी सेवा, पोषण परामर्श सेवा, खोप सेवा, डट्स सेवा, अन्तरंग सेवा संचालन गर्दै आएको छ ।
त्यस्तै आमा सुरक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन अस्पतालमा २४ सै घण्टा प्रसूति सेवा, प्रत्येक हप्ता २ दिन आमा र बच्चाका लागि नियमित खोप, पोषण सेवा एवं डट्स सेवासमेत उपलब्ध गराउदै आएको छ ।
अस्पतालले उपलब्ध गराएको अर्को महत्वपूर्ण सेवा फार्मेसी सेवा हो । यहाँ बाहिरी बजारमूल्य भन्दा करिब १० प्रतिशत सस्तोमा बिरामीले औषधी प्राप्त गर्न सक्छन भने निःशुल्क औषधीहरु पनि सरल र सहज रूपमा उपलब्ध हुने गरेका छन् ।
अस्पतालमा नगरपालिका भित्रका मात्रै होइन छिमेकी नगर र सिन्धुपाल्चोक, दोलखा, भक्तपुर लगायतका जिल्लाबाट पनि बिरामीहरु आउने गरेका छन् ।
१५ शैय्याबाट सुरु भएको अस्पताल अहिले सय शैय्यामा स्तरोन्नतीको प्रक्रियामा छ । हाल ३० देखि ३५ शैय्या नियमित प्रयोगमा छन् । अस्पतालले केहिसमय अघिदेखि अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया सुरु भएको छ ।
अस्पतालले सोमबारदेखि सोधपुछ कक्ष, नगद र बीमा काउन्टरलाई अझ सरल र सुचारु बनाउँदै लागेको छ ।
अस्पतालबाट दिने बिशेषज्ञसहितका सेवाहरुलाई प्रभावकारी र जनमैत्री बनाउदै गएकाले आम नागरिकको विश्वास जित्न सकेको नगरप्रमुख उपेन्द्र कार्कीले बताए । उनले उच्च गुणस्तरीय यन्त्र उपकरण, औजार, दक्ष तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुबाट उच्चस्तरीय स्वास्थ्य सेवा नगर अस्पतालले प्रदान गर्दै आइरहेको बताए ।
प्रदेशकै नमुना अस्पतालका रुपमा विकसित हुँदै गरेको अस्पताललाई सय शैयामा स्तरोन्नतिका प्रदेश सरकारलाई प्रस्ताव गरिएको र त्यसको लागि आवश्यक कामहरु अघि बढेको प्रमुख कार्कीको भनाई छ । स्तरोन्नति सँगै आधुनिक शल्यक्रिया कक्ष, प्रसुतिगृह, आइसीयु, एनआइसीयु, डाइलाइसिस्, ट्रमा सेन्टर, ल्याव र इमेजिङ सेवा विस्तार गर्ने लक्ष्य लिइएको प्रमुख कार्कीले जानकारी दिए ।
अस्पतालमा विरामीको चाप बढी रहेकोले जनताको स्वास्थ्य नगरपालिकाको पहिलो प्राथमिकतामा रहेको बताए ।




















