Hamro Sanchar

कागेश्वरी मनोहराभित्र १ सय पाँच जना क्षयरोगका बिरामी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ चैत्र, ११ गते


काठमाडौं, चैत १२- कागेश्वरी मनोहरा नगरपालिकाभित्र हालसम्म १ सय ५ जना क्षयरोगका बिरामी फेला परेका छन् । नौ वडा रहेको नगरपालिकामा हालसम्म एक सय ५ जना क्षयरोगी फेला परेका नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ ।

क्षयरोग कार्यक्रम संयोजक कन्चन श्रेष्ठका अनुसार वडा नम्बर १ मा ३ जना, (वडा नम्बर २ मा हालसम्म नभेटिएको) वडा नम्बर ३ मा ४ जना, वडा नम्बर ४ मा ३ जना, वडा नम्बर ५ मा २५ जना, वडा नम्बर ६ मा ३६ जना, वडा नम्बर ७ मा ९ जना, वडा नम्बर ८ मा ५ जना र वडा नम्बर ९ मा १६ जना रहेका छन् । यीमध्ये ३७ जनाले नगर अस्पतालबाट नियमित क्षयरोगको औषधी खाइरहेका छन् ।

क्षयरोगीका बिरामीको खोजतलास भइरहेको साथै हालसम्म फेला परेका क्षयरोगका बिरामीले नियमित औषधि सेवन गरिरहेका नगर स्वास्थ्य शाखाले जनाएको छ ।

नगर अस्पतालले दैनिक ४ देखि १० जनाको नमुना परिक्षण गरिरहेको अरु मानिसको पनि पहिचान गर्ने काम भइरहेको नगर अस्पतालकी डाक्टर अनमिका सिंहले बताइन् ।

शंकास्पद सबैलाई जाँचको दायरामा ल्याउन पहल गरिएपनि परिक्षण गर्न नमान्ने र नदिने भएका कारण धेरै विरामीको रोग पत्ता लाग्न सकेको छैन । यसको मुख्य कारण जनचेतनाको कमी रहेको बताइएको छ ।

वर्तमान अवस्थामा क्षयरोग कम चर्चाको रुपमा हेरिएको भए पनि क्षयरोग एकदम जर्जर अवस्थामा रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ ।

क्षयरोग एक सरुवा रोग हो जुन माइकोव्याक्टेरियम ट्युवरकुलोसिस भन्ने आंखाले देख्न नसकिने सुक्ष्म किटाणुबाट हुन्छ । यो रोग एक व्यक्तिबाट अर्को व्यक्तिमा श्वास प्रश्वासको माध्यमबाट सर्दछ ।

फोक्सोको क्षयरोग भएका विरामीहरुले खोक्दा, हाच्छिउँ गर्दा र थुक्दा क्षयरोगका किटाणुहरु वाहिर वातावरणमा निस्कन्छन् र स्वस्थ मानिसमा श्वास प्रश्वासको माध्यमबाट फोक्सोमा पुग्दछन् र क्षयरोग लाग्न सक्छ ।

क्षयरोगका किटाणुबाट प्रभावित भएका सबै व्यक्तिलाई क्षयरोग लाग्दैन । यदि क्षयरोगका किटाणुहरुले आक्रमण गरेका व्यक्तिहरुमा रोगसँग लड्ने क्षमता राम्रो छ भने रोग लाग्दैन । तर रोगसँग लड्ने क्षमता कम भए यो रोगले छिटो आक्रमण गर्दछ । जस्तै कुपोषण, एच.आई.भी.संक्रमण भएका मानिसहरुमा यो रोग छिटो विकसित हुन्छ । एक जना क्षयरोगीले १ बर्षमा १० देखी १५ जनासम्म स्वस्थ्य व्यक्तिलाई सर्न सक्छ ।


प्रतिकृया दिनुहोस्