Hamro Sanchar

कागेश्वरी मनोहराले यस वर्ष ‘स्वास्थ्य बीमा वर्ष’का रुपमा मनाउने, यसरी गर्न सकिन्छ बीमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ पुष, ४ गते


काठमाडौं, पुस ४- कागेश्वरी मनोहरा नगरपालिकाले यस वर्षलाई “स्वास्थ्य बीमा वर्ष”का रुपमा मनाउने भएको छ । स्वास्थ्य बीमा कार्यक्रमलाई अझ शसक्त बनाउन र गुणस्तरीय स्वास्थ्य सेवाकाे पँहुच विस्तार गर्न यस वर्ष “बीमा वर्ष” मनाउने भएको हो ।

“राम्रो स्वास्थ राम्रो जीवन, स्वास्थ्य बीमा स्वास्थ जीवन । स्वास्थ्य बीमा गराैं, विरामी हुँदा पैसाकाे चिन्ता नगराैं” भन्ने नाराका साथ नगरपालिकाले “बीमा वर्ष” मनाउने भएको हो ।

आफ्ना नगरबासीहरुको स्वास्थ्यलाई ध्यानमा राखी यो बर्षलाई स्वास्थ्य बीमा वर्षका रुपमा मनाउन लागिएको नगरप्रमुख उपेन्द्र कार्कीले जानकारी दिए । प्रमुख कार्कीकाअनुसार स्वास्थ्य बीमा कार्यक्रमका लागि नगरपालिकाले चालु आर्थिक बर्षका लागि २ करोड बजेट समेत छुट्याएको छ । जसमा बिपन्न, दलित तथा निम्न आय भएका र नगरपालिकासँग जोडिएका कर्मचारीलाई निशुल्क स्वास्थ्य बिमा गरिने छ ।

मंगलबार स्वास्थ्य बीमा संयाेजन समितिको बैठक पनि राखिएको थियो । बैठकमा स्वास्थ्य बीमा कार्यक्रमलाई अझ व्यापक र प्रभावकारी बनाउन प्रमुख कार्कीले बीमा दर्ता सहयाेगी र कर्मचारीलाई सेवा प्रबाहलाई चुस्त-दुरुस्त बनाउन निर्देशन समेत दिएका थिए ।

नगरप्रमुख कार्कीले नगर अस्पतालमा बिशेषज्ञ सहितको स्वास्थ्य सेवा प्रदान गर्दै आइरहेकाले स्वास्थ्य बीमा कार्यक्रममा जोडिन नगरबासीलाई स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन अनुरोध समेत गरेका छन् ।

बीमा फोकल पर्सन प्रज्ञा पाण्डेकाअनुसार हालसम्म नगरपालिकाका ५८ हजार ५ सय ८० जनाले स्वास्थ्य बीमा गरेका छन् । जसमध्ये ‘क’ बर्ग, ‘ख’ बर्ग र जेष्ठ नागरिक गरि २ हजार ६ सय ४७ परिवार अर्थात् १३ हजार २ सय ३५ जनाको निशुल्क बीमा गरिएको छ । यस्तै १ सय १८ सय जना नगरपालिकामा कार्यरत स्वास्थ्य स्वम्सेविका कर्मचारीको निशुल्क बीमा गरिएको छ ।

नगरपालिकामा २०७९ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरुवात भएको थियो । नगर अस्पतालमा २०७८/७९ मा ४ सय ३२ जना, २०७९/८० मा ४ हजार ६ सय १२ जना, २०८०/८१ मा १९ हजार ५ सय ६३ र २०८१/८२ को ५ महिनामा १८ हजार ३ सय ६४ जनाले सेवा लिएका छन् ।

नगरपालिकाले नगरभित्र बसोबास गर्ने सबै स्थानीयलाई स्वास्थ्य बीमामा समेट्ने लक्ष लिइएको छ ।

यसरी गर्न सकिन्छ बीमा

स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षा अन्तर्गतको कार्यक्रम हो । ५ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ३ हजार ५ सय रुपैयाँ, ६ देखि ७ जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ४ हजार ७ सय र १० जना सदस्य भएका प्रतिपरिवारले वार्षिक ७ हजार रुपैयाँमा स्वास्थ्य बीमा गर्न सक्दछन् ।

स्वास्थ्य बीमा गरेका परिवारका सदस्यले वार्षिक १ लाख बराबरको निःशुल्क उपचार सेवा पाउने गर्दछन् । उक्त सुविधा देशभरका नीजि र सरकारी गरेर ४६६ स्वास्थ्य संस्थाबाट लिन सकिन्छ ।

२०७२ चैत्र २५ गते पहिलो पटक कैलाली जिल्लाबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । त्यस लगत्तै यो कार्यक्रम देशभर लागु गरिएको हो ।


प्रतिकृया दिनुहोस्