
१३ साउन, काठमाडौं । नारायणी अस्पतालमा भएको चिकित्सिकमाथिको आक्रमणको विरोधमा दोस्रो दिन पनि देशभरका अस्पतालहरूमा आकस्मिकबाहेकका अन्य सबै स्वास्थ्य सेवा बन्द छन् ।
नेपाल चिकित्सक संघले आह्वान गरेको बन्दका कारण ओपीडी, नियमित स्वास्थ्य परीक्षण, शल्यक्रियालगायत सेवाहरू पूर्ण रूपमा ठप्प बनेका छन् ।
सेवा अवरुद्ध हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामी घर फर्किन बाध्य बनेका छन् ।
वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पताल परिसरमा गरिएको तोडफोडमा संलग्न दोषीलाई कानुनी कारबाही गर्न सरकार उदासिन बनेको भन्दै संघले आन्दोलनलाई निरन्तरता दिएको छ ।





























