
३० जेठ, काठमाडौं । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का क्रममा करिब १८ हजार बालबालिका शीघ्र कडा कुपोषणबाट ग्रसित देखिएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बालबालिकाको पोषणको अवस्था पत्ता अभियान सञ्चालन गरेको हो ।
उक्त अभियानको तथ्याङ्क सार्वजनिक गर्दै १८ हजार ३०९ बालबालिकामा कडा शीघ्र कुपोषण देखिएको स्वास्थ्य सेवा विभागका पोषण शाखा प्रमुख लिलाविक्रम थापाले जानकारी दिए । उनका अनुसार अभियानको क्रममा १० लाख ३५ हजार २०१ बालबालिकामा परीक्षण गरिएकामा १८ हजार ३०९ जना बालबालिका शीघ्र कडा कुपोषितबाट ग्रसित देखिएका हुन् ।
जाँच गर्दा ८८ हजार २०५ बालबालिकामा शीघ्र कुपोषित रहेका पाइएको पोषण शाखा प्रमुख थापाले बताए । सरकारले गत वैशाख १५ देखि जेठ १५ गतेसम्म छ महिनादेखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गर्न, शीघ्र कुपोषणको समयमा पहिचान र उपचार गर्न अभियान सञ्चालन गरेको उनले जानकारी दिए ।






























