
काठमाडौं । कागेश्वरी मनोहरा नगर अस्पताल १०० शैयाको जनरल अस्पतालमा स्तरोन्नति हुने स्वीकृति पाएसँगै नगरको स्वास्थ्य सेवा क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ का लागि अस्पताल स्तरोन्नति तथा नगरभित्रका विभिन्न विकास निर्माण योजनाहरूमा आवश्यक बजेट विनियोजन गराउन कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख उपेन्द्र कार्की, अस्पतालका कार्यकारी निर्देशक रामप्रसाद पौडेलसहित नगरपालिकाको टोलीले बागमती प्रदेश सरकारका मुख्यमन्त्री तथा विभिन्न मन्त्रालयका मन्त्रीहरूसँग भेटघाट एवं विशेष छलफल गरेको छ।
केही वर्षअघिसम्म दैनिक करिब १३० जना बिरामीले मात्र सेवा लिने अस्पतालमा अहिले २८ जना विशेषज्ञ चिकित्सकसहित दैनिक १ हजारभन्दा बढी सेवाग्राहीले स्वास्थ्य सेवा प्राप्त गरिरहेका छन्। अस्पतालले हाल दैनिक २८ भन्दा बढी प्रकारका विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन गर्दै आएको छ।
अस्पतालमा हाडजोर्नी, ईन्टरनल मेडिसिन, बालरोग, स्त्री तथा प्रसूति रोग, रेडियोलोजी, ईएनटी, मनोरोग, छाला तथा यौनरोग, मुटुरोग, युरोलोजी, सर्जरी, आँखा, दन्तरोग, फिजियोथेरापी, प्याथोलोजी, पोषण परामर्श, खोप, डट्स लगायतका सेवाहरू विशेषज्ञ चिकित्सकमार्फत उपलब्ध छन्। साथै एम्बुलेन्स, शववाहन, अन्तरंग सेवा तथा २४सै घण्टा आकस्मिक सेवा पनि सञ्चालनमा रहेको छ।
आमा तथा शिशु स्वास्थ्यलाई प्राथमिकतामा राख्दै अस्पतालले चौबीसै घण्टा प्रसूति सेवा सञ्चालन गरिरहेको छ भने प्रत्येक हप्ता दुई दिन नियमित खोप, पोषण परामर्श तथा अन्य मातृ–शिशु स्वास्थ्य सेवाहरू प्रदान गर्दै आएको छ। अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया सेवा समेत सुरु भएपछि स्थानीय नागरिकले सहज रूपमा विशेषज्ञ उपचार पाउन थालेका छन्।
अस्पतालको अर्को महत्वपूर्ण विशेषता सुलभ फार्मेसी सेवा हो। यहाँ बिरामीहरूले बजार मूल्यभन्दा करिब १० प्रतिशत कम मूल्यमा औषधि प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ भने नेपाल सरकारले उपलब्ध गराउने निःशुल्क औषधिहरू पनि सहज रूपमा वितरण हुँदै आएका छन्।
नगरप्रमुख उपेन्द्र कार्कीका अनुसार अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा, आधुनिक उपकरण, दक्ष जनशक्ति तथा जनमैत्री व्यवस्थापनका कारण नागरिकको विश्वास जित्न सफल भएको छ। उनले अस्पतालबाट प्रदान गरिने विशेषज्ञ सेवाहरूलाई थप प्रभावकारी र पहुँचयोग्य बनाउँदै लगिएको बताए।
“उच्चस्तरीय यन्त्र, उपकरण, आधुनिक प्रविधि र अनुभवी विशेषज्ञ चिकित्सकमार्फत गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएका छौं। प्रदेशकै नमुना अस्पतालका रूपमा स्थापित हुँदै गएको यस अस्पताललाई १०० शैयामा स्तरोन्नति गर्ने प्रस्ताव स्वीकृत भएसँगै आवश्यक पूर्वाधार निर्माणका कामहरू तीव्र गतिमा अघि बढिरहेका छन्,” नगरप्रमुख कार्कीले बताए।
अस्पतालको दीर्घकालीन गुरुयोजनाअनुसार स्तरोन्नतिपश्चात् आधुनिक शल्यक्रिया कक्ष, सुविधासम्पन्न प्रसूतिगृह, आईसीयू, एनआईसीयू, डायलाइसिस सेवा, ट्रमा सेन्टर, अत्याधुनिक ल्याब तथा इमेजिङ सेवाहरू विस्तार गर्ने लक्ष्य लिइएको छ। यसका लागि आगामी आर्थिक वर्षमा करिब ३० करोड रुपैयाँ बजेट आवश्यक पर्ने भन्दै प्रदेश सरकारसँग बजेट विनियोजनका लागि पहल गरिएको नगरपालिकाले जनाएको छ।
स्वास्थ्य सेवा विस्तार, सुशासन, आधुनिक प्रविधिको प्रयोग र पूर्वाधार विकासका कारण कागेश्वरी मनोहरा नगर अस्पताल बागमती प्रदेशकै एक नमुना सार्वजनिक स्वास्थ्य संस्थाको रूपमा स्थापित हुँदै गएको स्थानीयवासीको विश्वास छ।





























