Hamro Sanchar

कागेश्वरी मनोहराका ३ सय ६० सामुदायिक कुकुर र २ बिरालाको बन्ध्याकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १६ गते


काठमाडौं, माघ १६- दिन प्रतिदिन छाडा कुकुरको संख्या बढ्दै गएपछि कागेश्वरी मनोहरा नगरपालिकाले नियन्त्रण गर्न थालेको छ ।

कुकुरको संख्या बढ्न नदिन नगरपालिकाले स्थायी बन्ध्याकरण गरेको हो ।

नगरपालिकाको पशुसेवा शाखाले बुधबारसम्म वडा नम्बर १,२,३,४ र ५ वडाका सामुदायिक ३ सय ६० कुकुर र २ वटा बिरालोलाई नियन्त्रणमा लिएर सुरक्षित साथ बन्ध्याकरण गरेको हो ।

छाडा कुकुरको संख्या बढ्दै जाँदा स्थानीय स्तरमा बढी होहल्ला हुने र कुकुरको टोकाइले रेबिज रोगको संक्रमण हुने खतरा भएकाले तिनलाई स्थायी बन्ध्याकरणका साथै रेबिजविरुद्धको सुई लगाइएको पशुसेवा शाखा प्रमुख रामबहादुर देउजाले जानकारी दिए ।

गतबर्ष मुलपानी पशुसेवा शाखाले ६,७,८ र ९ का क्षेत्रभित्र रहेका नौ सय कुकुरहरुलाई बन्ध्याकरण गरेको थियो ।

नगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक कुकुरहरुको संख्या कम गर्ने उदेश्यले नगरपालिकाले बिगत ४ बर्षदेखि लगातार बन्ध्याकरण अभियान नै चलाएको छ ।

यसको मुख्य उदेश्य कुकुरको टोकाईबाट हुने प्राणघातक रेबिज रोगबाट मानव मृत्युलाई उन्मुलन गर्नु रहेको छ । सन् २०३० सम्म नेपाललाई रेबिज उन्मुलन गर्ने लक्ष्य रहेको छ ।

यो अभियानलाई आगामी बर्षहरुमा पनि निरन्तरता दिने पशुसेवा शाखाले जनाएको छ ।


प्रतिकृया दिनुहोस्