Hamro Sanchar

सार्वजनिक बिदामा पनि नगर अस्पतालबाट सम्पूर्ण सेवा उपलब्ध हुने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ माघ, १५ गते


काठमाडौं, माघ १५- कागेश्वरी मनोहरा नगरपालिकाद्धारा संचालित नगर अस्पतालले सार्वजनिक बिदामा समेत सेवा प्रदान गर्ने भएको छ । अस्पताल प्रशासनले मंगलबार एक सूचना जारी गर्दै बिदाको दिनमा समेत सेवा प्रदान गर्ने जानकारी दिएको हो ।

बिहिबार तामाङ समुदायले मनाउने चाड सोनम ल्होसारको अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा दिएको छ । तर अस्पतालबाट दिने सेवाहरुलाई अझ बढी प्रभावकारी र जनमैत्री बनाउदै जाने शिलशिलामा विरामीको बढी रहेको चाप र बिदाको दिनमा पनि सेवा प्रवाह निरन्तर गरिदिन माग भई आएकाले उक्त दिन सम्पूर्ण उपचार सेवा लिन सकिने अस्पताल प्रशासनले बताएको हो ।

अस्पतालमा बिरामीको संख्या विगतका वर्षभन्दा दोब्बरभन्दा धेरैले बृद्धि भएको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा २९ हजार ५०६ जना बिरामीले उपचार गराएका थिए भने २०८०/८१ मा ६६ हजार भन्दा बढीले अस्पतालमा उपचार गराएका छन् ।

८ वेडको क्षमताको सुविधासम्पन्न आकस्मिक कक्ष रहेको अस्पतालमा बहिरंग, अन्तरगं, दन्तरोग, आखाँ उपचार र बर्थिङ सेवा, सामान्य चिरफार, सुरक्षित गर्भपतन सेवा र निशुल्क क्षयरोगको उपचार हुँदै आएको छ । त्यस्तै, प्रबर्धनात्मक सेवा अन्तर्गत परिवार नियोजन, पोषण कार्यक्रम, सुरक्षित मातृत्व कार्यक्रम, नियमित खोप कार्यक्रम, विद्यालय शिक्षा कार्यक्रम, स्वास्थ्य सेवा शिविर र महिला स्वास्थ्य स्वयमसेवीका कार्यक्रम सञ्चालन हुँदै आएको छ । स्वास्थ्य बीमा कार्यक्रम लागू भएको अस्पतालमा, एक्सरे, ल्याब, फार्मेसी, बथिङं, एम्बुलेन्स र बीमा सेवा चौबिसै घण्टा उपलब्ध हुँदै आएको छ ।

विशेषज्ञ सेवा अन्तर्गत सामान्य चिकित्सक, हाड जोर्नी, प्रसूति तथा स्त्रीरोग, बालरोग, अल्टासाउण्ड र फिजियोथेरापी, छालारोग, मनोचिकित्सक, नाक, कान, घाँटी सेवा सञ्चालन हुँदै आएको छ ।


प्रतिकृया दिनुहोस्