
काठमाडौं, असार २८- काठमाडौं महानगरपालिकाले गन्ध आउने अचार बेचेको भन्दै बर्गर हाउस एन्ड क्रन्ची फ्राइड चिकेनलाई जरिबाना तिराएको छ ।
कलंकीमा रहेको सो बर्गर हाउसले अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध आउने अस्वस्थ्यकर अचार पठाएको पाइएपछि २ लाख रुपैयाँ जरिबाना गरिएको महानगरले जनाएको छ ।
अनलाइन मःम अर्डर गर्ने ग्राहकलाई गन्ध आउने अस्वस्थ्यकर अचार पठाएको पुष्टि भए पछि महानगरले कारबाही गरेको हो ।
२६ असार साँझ सवा ६ बजे अनलाइन अर्डरमा बर्गर हाउसले उपभोक्तालाई पठाएको म:म को अचारमा गन्हाएको पाइए पछि उपभोक्ताले यो विषयबारे बर्गर हाउसलाई जानकारी गराएका थिए ।
महानगरका खाद्य प्राविधिक अनिल बस्नेत भन्छन्, ‘गुनासो आए पछि बर्गर हाउसले फेरि अचार पठायो । यसपटक पठाएको अचारमा पनि गन्ध पाइ एपछि उपभोक्ताबाट महानगर प्रहरी बलमा उजुरी आयो । यसरी आएको गुनासोबारे छानबिन गर्दा खानेकुरामा स्वच्छता नभएको पुष्टि भएपछि कारबाही गरेका हौं ।’
उजुरी छानबिनका लागि कार्यालयमा बोलाइएका वर्गर हाउसका सञ्चालक बिक्रम गिरीले मःमको अचारमा गन्ध आएको स्वीकार गरेका छन् । उनले कर्मचारीको लापरबाहीका कारण अचारमा गन्ध आएको भन्दै कर्मचारीलाई पनि कारबाही गरिएको प्रस्टीकरण दिए ।


















