आज : २०८१ आश्विन १२ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

दोलखाका शैलुङ र भिमेश्वरका ४ हजार बालबालिकाको मुटु परीक्षण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असार, ८ गते


Advertisement

दोलखा, असार ७- दोलखाका भीमेश्वर नगरपालिका र शैलुङ गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययनरत ४ हजार बालबालिकाहरूको मुटु परीक्षण गरिएको छ ।

बुधवार भीमेश्वर नगरपालिकाबाट सुरु गरिएको शिविरमा २ हजार ९ सय ८३ जना विद्यालयका बालबालिकाको जन्मजात मुटुरोग जाँच गरिएको थियो । बुधवार दोलखाको सदरमुकाम चरिकोटमा विभिन्न विद्यालयमा कक्षा ८ सम्म अध्ययन गर्ने बालबालिकाको मुटु परीक्षण गरिएको शिविर आयोजनाका समन्वयकर्ता तथा राप्रपा दोलखाका नेता कुमार कार्कीले जानकारी दिए ।

यस्तै बिहीबार दोलखाको शैलुङ गाउँपालिकाका १ हजार ११ जना बालबालिकाको मुटु परीक्षण गरिएको थियो । शैलुङमा रहेको शारदा माविमा आयोजना गरिएको शिविरमा १ हजार ११ जनाको परीक्षणका क्रममा ६ जनामा मुटुमा समस्या देखिएको र तीन जनाको तुरुन्तै उपचार गर्नुपर्ने देखिएको शिविरमा संलग्न डाक्टर तथा मुटु रोग विशेषज्ञ प्रेमराज वैद्यले जानकारी दिए ।

चरिकोट र शैलुङमा गरी मुटु परीक्षण शिविरका क्रममा १ सय ७८ जनाको इको गरिएको थियो । जसमध्ये १२ जना बालबालिकामा गम्भीर मुटु रोग समस्या देखिएको परीक्षणमा संलग्न चिकित्सकहरूले बताएका छन् ।

गम्भीर समस्या देखिएका १२ जना बालबालिकालाई चीनको फुवाई युनान कार्डियोभास्कुलर अस्पताल लगेर निःशुल्क उपचार गरिने अन्नपूर्ण न्युरो अस्पतालका वरिष्ठ सर्जन वसन्त पन्तले जानकारी दिए । अन्नपूर्ण अस्पताल र फुवाई युनान कार्डियो भास्कुलर अस्पताल चीनको आयोजनामा विद्यालयका बालबालिकाको मुटु परीक्षण गरिएको हो ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञहरूबाट मुटुको निःशुल्क (सामान्य) जाँच तथा इको समेत गरिएको थियो । शिविरको सम्पूर्ण व्यवस्थापकीय काम राप्रपाका केन्द्रीय सहायक कोषाध्यक्ष तथा समाजसेवी शोभित उप्रेतीले गरेका थिए ।


प्रतिकृया दिनुहोस्