
काठमाडौ, वैशाख २९- डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले ४१ करोड सहयोग घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंको हेपाली हाइटस्थित अस्पताल निर्माण क्षेत्र पुगेर गुरूङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाउँदै ४१ करोड रुपैयाँ सहयोगको घोषणा गरेका हुन् ।
उनले अस्पताल निर्माणबारे चासो राखेका थिए ।
डा. कोइरालाले खुशी व्यक्त गर्दै उक्त रकम अस्पताल निर्माणमा ठूलो सहयोग रहेको बताए ।
कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छ । डा. कोइरालाले काठमाडौंसहित सातवटै प्रदेशमा बाल अस्पताल बनाउने अभियान अघि सारेका छन् ।
कोसी प्रदेशको झापामा एक वर्षअघि नै बाल अस्पताल सम्पन्न भइसकेको छ । अब काठमाडौंसहित बाँकी प्रदेशमा बाल अस्पताल निर्माण हुनेछ ।


















