Hamro Sanchar

कागेश्वरी मनोहराको वडा नम्बर ६ मा कटन क्यान्डी बेच्न रोक, भेटियो ‘रोडामाइन बी’

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० फागुन, ३ गते


काठमाडौं, फागुन ३- काठमाडौंका विभिन्न स्थानमा बिक्री–वितरण भइरहेको ‘रंगीन कटन क्यान्डी’मा अखाद्य वस्तुको प्रयोग भएको पाइएको छ । सडकपेटी, बजार, मेलालगायतका स्थानहरूमा खुला रूपमा बिक्री–वितरण भइरहेको रंगीन कटन क्यान्डीमा मानव स्वास्थ्यमा गम्भीर असर पुर्‍याउने अखाद्य रङ रोडामाइन बीको प्रयोग भएको पाइएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको प्रयोगशाला जाँच विश्लेषणबाट क्यान्डीमा विषाक्त वस्तुको प्रयोग भएको भेटिएको हो ।

मानव शरीरमा गम्भीर असर पुर्‍याउने रोडामाइन बी बालबालिकाले खान मन पराउने क्यान्डीमा भेटिएको भन्दै काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ६ भित्र बेचबिखन गर्न रोक लगाइएको छ । बिहिबार वडा अध्यक्ष प्रकाश फुयालले एक सूचना जारी गर्दै त्यस्ता अखाध्य बस्तुको बेचबिखन गर्न रोक लगाएको जानकारी दिएका हुन् ।

खुला रूपमा बिक्री–वितरण गरिएको पाइएमा खाद्य ऐन नियमबमोजिम कारबाही हुनेसमेत वडा कार्यालयले जनाएको छ ।

‘रंगीन कटन क्यान्डी’मा प्रयोग गरेको पाइएको रोडामाइन बी औद्योगिक उद्देश्यले कपडा, कागज आदिमा रङको रूपमा प्रिन्टिङमा प्रयोग गरिन्छ । यसले जनावर तथा मानव शरीरमा विभिन्न गम्भीर असर पुर्‍याउने भएकाले खाद्य वस्तुमा प्रयोग गर्न बन्देज लगाइएको छ । भारतलगायतका विभिन्न देशहरूलाई रोडामाइन बीको प्रयोगलाई गैरकानुनी मानिएको छ ।

चिकित्सकका अनुसार रोडामाइन बी शरीरमा प्रवेश गर्दा कोशिका र तन्तुहरूमा अक्सिडेटिभ तनाव उत्पन्न हुने भएकाले मानव शरीरका लागि विषाक्त छ । लामो समयसम्म रोडामिन बीको प्रयोगले छाला, कलेजोमा समस्या वा क्यान्सरसम्मको गम्भीर समस्या निम्त्याउन सक्छ ।

मानव शरीरमा मात्र नभई रोडामाइन बी अन्य जनावर, बोटविरुवा र वातावरणका लागि समेत घातक मानिएको छ ।


प्रतिकृया दिनुहोस्